२०८३ साउन १० आइतबार

सर्लाहीमा ८० मिटर अग्लो टेलिकम टावरमा चढेका युवकलाई उद्धार गर्ने प्रयास जारी

ई आर्थिक    आइतबार, साउन ३ २०८३
361
Shares
सर्लाहीमा ८० मिटर अग्लो टेलिकम टावरमा चढेका युवकलाई उद्धार गर्ने प्रयास जारी

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षित रूपमा तल झार्न सुरक्षाकर्मीले निरन्तर प्रयास गरिरहेका छन्।

मलङ्गवा नगरपालिका–९ स्थित नेपाल टेलिकमको टावरमा गोडैता नगरपालिका–९, बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन चढेका हुन्। उनी टावरको सबैभन्दा माथिल्लो भागमा रहेको नेपाल टेलिकम मलङ्गवा कार्यालयले जनाएको छ।

नेपाल टेलिकम मलङ्गवाका कार्यालय प्रमुख सधुघनकुमार यादवका अनुसार आइतबार बिहान करिब ५ बजे दुई जना युवक कार्यालयमा आएर आफ्नो साथी टावरमा चढेको जानकारी दिएपछि मात्रै घटनाबारे थाहा भएको थियो।

प्रारम्भिक जानकारीअनुसार सर्लाही क्याम्पस मलङ्गवामा स्नातक तहमा अध्ययनरत हुसैनले सुरुमा आफ्नो प्रेमिकालाई बोलाइएपछि मात्रै तल झर्ने बताएका थिए। टेलिकमका कर्मचारीले सम्झाउँदा पनि उनी तल झर्न नमानेपछि प्रहरीलाई खबर गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार युवकलाई सम्झाइबुझाइ गरेर सुरक्षित रूपमा तल झार्ने प्रयास भइरहेको छ। उनले अहिले प्राथमिकता संवादमार्फत उद्धार गर्नु रहेको र आवश्यक परे अन्य विकल्प पनि अपनाइने बताए।

प्रहरी र युवकका साथीबीच मोबाइलमार्फत निरन्तर संवाद भइरहेको छ। यद्यपि युवकले अझै तल झर्न अस्वीकार गर्दै टावरको माथिल्लो भागमा हिँडडुल गर्ने र बस्ने गरिरहेका छन्।

प्रहरीका अनुसार युवक रातिको समयमा नै टावरमा चढेको हुन सक्ने अनुमान गरिएको छ। टेलिकमका सुरक्षा गार्डले अँध्यारोमा पर्खालतर्फबाट प्रवेश गरेका कारण घटना तत्काल थाहा नभएको बताएका छन्।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा खटिएको छ। अनौठो घटनाको खबर फैलिएपछि नेपाल टेलिकम मलङ्गवा कार्यालय परिसरमा स्थानीयवासीको ठूलो भीडसमेत लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij