२०८३ साउन १२ मंगलबार

सरकार र मिटरब्याज पीडितबीच सहमति नजिक, अन्तिम वार्ता जारी

ई आर्थिक    शुक्रबार, साउन १ २०८३
513
Shares
सरकार र मिटरब्याज पीडितबीच सहमति नजिक, अन्तिम वार्ता जारी

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। सिमरामा सरकारी वार्ता टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्दै औपचारिकता दिने तयारी भएको हो।

यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारी वार्ता टोली र मिटरब्याज पीडित पक्षका प्रतिनिधिबीच अन्तिम चरणको निर्णायक वार्ता जारी रहेको छ।

यसअघि बिहीबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच सघन छलफल भएको थियो। सोही छलफलमा भएका सहमतिका आधारमा आज अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको जनाइएको छ।

सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहनुभएको छ। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य रहनुभएको छ।

पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहनुभएको छ। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्य रहनुभएको छ।

दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि आन्दोलनका कार्यक्रम र मिटरब्याज पीडितका माग सम्बोधन गर्ने विषयमा औपचारिक निर्णय सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij