गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको चलचित्र अनुभव प्रदान गर्ने उद्देश्यले हललाई पूर्ण रूपमा पुनर्निर्माण गरिएको हो
काठमाडौं । ललितपुरको ग्वार्खोस्थित तीन दशक पुरानो गुण सिनेमा तीन वर्ष लामो रेनोभेटपछि नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको छ। वि.सं. २०५२ मा स्थापना भएको यो सिनेमा हललाई अत्याधुनिक प्रविधि र दर्शकमैत्री सुविधासहित पुनः सञ्चालनमा ल्याइएको हो।
गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको चलचित्र अनुभव प्रदान गर्ने उद्देश्यले हललाई पूर्ण रूपमा पुनर्निर्माण गरिएको हो। यसअघि सञ्चालनमा रहेका ८ वटा हललाई यथावत् राखिए पनि दर्शकको बदलिँदो रुचिअनुसार लक्जरी र प्रिमियम सिटमा जोड दिँदै सिट संख्या घटाइएको छ।

पहिले एकैपटक करिब ३,८०० दर्शक अट्ने क्षमता रहेको हलमा अब १,४०० दर्शक अट्ने व्यवस्था गरिएको छ। प्रत्येक हलमा अधिकतम २६० सिट रहनेछन्।
अत्याधुनिक साउण्ड र प्रोजेक्सन सिस्टम
रेनोभेटपछि गुण सिनेमामा नयाँ प्रविधिको ध्वनि तथा प्रोजेक्सन प्रणाली जडान गरिएको छ। हलमा जीडीसी डिजिटल सिनेमा सर्भर, बेल्जियममा निर्मित पल्ज तथा जेबीएल साउण्ड सिस्टम, डीटीएसःएक्स त्रिआयामिक ध्वनि प्रविधि र एआईबी ३००० इमर्सिभ साउण्ड प्रोसेसर जडान गरिएको छ।

यस्तै, बार्को २के लेजर प्रोजेक्टर र ८ वटा गालालाइट सिल्भर स्क्रिन प्रयोग गरिएकाले उच्च रेजोलुसन, जीवन्त रङ, उत्कृष्ट कन्ट्रास्ट र स्पष्ट दृश्य गुणस्तर प्राप्त हुने कम्पनीको दाबी छ।
प्रिमियम सुविधा र क्यूएफएक्स व्यवस्थापन
प्रत्येक हलमा प्रिमियम सोफा सिट, फुल्ली एयर कन्डिसनिङ र लक्जरी लबीको व्यवस्था गरिएको छ। पुनः सञ्चालनमा आएको गुण सिनेमा अब क्यूएफएक्सको व्यवस्थापन अन्तर्गत सञ्चालन हुनेछ।
दर्शकका लागि सिनेमाभित्र हिमालयन जाभाको कफी, विभिन्न खाना, स्न्याक्स, पेप्सी तथा एक्स्ट्रिम इनर्जी ड्रिंक लगायतका पेय पदार्थ उपलब्ध हुनेछन्।

साउन १ देखि चलचित्र प्रदर्शन
सिनेमामा साउन १ गतेदेखि धमाल ४, गौथली र द ओडिसी लगायतका चलचित्र प्रदर्शन हुनेछन्।

फुड कोर्ट र गेमिङ जोन पनि
चारतले भवनको चौथो तलामा सिनेमा हल सञ्चालनमा रहेको छ। भवनको पहिलो (अण्डरग्राउण्ड) तलामा पार्किङ, दोस्रो तलामा केएफसी, हिमालयन जाभा, थकालीसहित विभिन्न रेस्टुरेन्ट तथा तेस्रो तलामा बालबालिकाका लागि गेमिङ जोन र कफी सप सञ्चालन हुने जनाइएको छ।
गुण ग्रुपले दरबारमार्गमा दरबारमल र दरबार सिनेम्याक्स सञ्चालन गरिरहेको छ। साथै, ग्वार्खोमै पाँचतारे होटल रोयल टुलिप सञ्चालनमा रहेको समूहले रियल स्टेट, एयरलाइन्स र मिडियालगायत विभिन्न क्षेत्रमा पनि लगानी विस्तार गर्दै आएको छ।
