काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन पार्टीको संसदीय दललाई आग्रह गर्ने निर्णय गरेको छ।
पार्टीका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको बैठकले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि साझा राष्ट्रिय दृष्टि र कार्ययोजना आवश्यक रहेको निष्कर्ष निकाल्दै उक्त निर्णय गरेको हो।
बैठकले निर्वाचनका क्रममा अधिकांश राजनीतिक दलले सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि निर्वाचनपछि बनेको सरकारले सुकुम्बासीप्रति देखाएको व्यवहार अलोकतान्त्रिक र अमानवीय भएको ठहर गर्दै त्यसप्रति गम्भीर आपत्ति र निन्दा गरेको जनाएको छ।
प्रतिष्ठानले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या कुनै एक दलको नभई सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ। पछिल्लो समय सरकारको कार्यशैलीका कारण समस्या थप जटिल बनेको भन्दै सरकार, सत्तापक्ष र प्रतिपक्षबीच साझा दृष्टिकोण तथा कार्ययोजना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
यसै सन्दर्भमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरी विषयलाई संस्थागत रूपमा अघि बढाउन नेपाली कांग्रेस संसदीय दललाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ।
यस्तै, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि अन्तरदलीय संवाद आवश्यक रहेको निष्कर्ष निकाल्दै प्रतिष्ठानले भूमि व्यवस्था विशेष अभियान उपसमितिका संयोजक तथा केन्द्रीय सदस्य डा. गोपाल दहितको नेतृत्वमा ‘संवाद र सहजीकरण संयन्त्र’ गठन गर्ने निर्णय पनि गरेको छ। उक्त संयन्त्रले सम्बन्धित पक्षबीच आवश्यक सहजीकरण र समन्वय गर्ने जनाइएको छ।
प्रतिष्ठानका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमार्फत बैठकका निर्णय सार्वजनिक गरिएको हो।