२०८३ साउन १० आइतबार

नारायणगढ–मुग्लिन सडकका १५ स्थानको पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालनमा

ई आर्थिक    मंगलबार, असार ३० २०८३
684
Shares
नारायणगढ–मुग्लिन सडकका १५ स्थानको पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालनमा

चितवन ।  लगातारको वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डका १५ स्थानमा खसेको पहिरो हटाइएपछि सडकमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ।

सोमबार दिउँसोदेखि परेको वर्षाका कारण साँझ ७ बजेदेखि विभिन्न स्थानमा पहिरो खस्न सुरु भएको थियो। रातभर पहिरो खसिरहेकाले सडक अवरुद्ध बनेको थियो। डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार मंगलबार बिहान सबै पहिरो हटाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो।

पहिरो पन्छाउन रातिदेखि नै दुईवटा लोडरसहितका उपकरण परिचालन गरिएको थियो। राति १ बजेसम्म अधिकांश स्थानमा सवारी सञ्चालन गर्न सक्ने अवस्था बने पनि केही ठाउँमा पुनः पहिरो खस्ने तथा खसिरहेकाले बिहानसम्म पर्खनुपरेको इन्जिनियर घिमिरेले जानकारी दिए।

उनका अनुसार भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई स्थान, घुमाउने, सिमलतालका दुई स्थान, २५ किलो, जलविरे, नाम्सी खोला र तुइन खोलामा पहिरोका कारण सडक अवरुद्ध भएको थियो। तीमध्ये सेतीदोभानमा सडक पूर्ण रूपमा बन्द भएको थियो भने अन्य स्थानमा एकतर्फी अवरोध भएको थियो।

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर वर्षाका कारण जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायम रहेकाले विशेषगरी रातिको समयमा अत्यावश्यक बाहेक यात्रा नगर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij