२०८३ भाद्र २७ शनिबार

मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता

ई आर्थिक    आइतबार, असार २८ २०८३
1.1K
Shares
मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता

सेकेन्ड ह्यान्ड मोबाइल कारोबारलाई कानुनी मान्यता दिनुपर्नेमा जोड, मर्मत व्यवसायीका समस्या समाधानका लागि कानुन संशोधनको पहल गर्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी तथा नीतिगत समस्या समाधानका लागि संसद् तथा नीति निर्माण तहमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मोबाइल व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएका कानुनी तथा व्यावसायिक चुनौती आफूले नजिकबाट बुझेको बताइन्। कार्यक्रममा सहभागी भएपछि व्यवसायसँग सम्बन्धित धेरै नयाँ विषयबारे जानकारी पाएको उल्लेख गर्दै उनले व्यवसायीका सुझाव र मागलाई नीति निर्माण प्रक्रियामा प्राथमिकताका साथ उठाउने विश्वास दिलाइन्।

सांसद थपलियाले नेपालमा सेकेन्ड ह्यान्ड मोबाइलको बिक्री–वितरण सम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा व्यवसायी र राज्य दुवै प्रभावित भएको बताइन्। विदेशमा यस्तो कारोबार कानुनी रूपमा सञ्चालन भइरहेका भए पनि नेपालमा अनौपचारिक रूपमा कारोबार भइरहेकाले सरकारले उल्लेखनीय राजस्व गुमाइरहेको उनको भनाइ थियो।

“सेकेन्ड ह्यान्ड मोबाइल कारोबारलाई कानुनी मान्यता दिन आवश्यक कानुनी संशोधन र नीतिगत सुधार अपरिहार्य छ। यस विषयलाई मैले गम्भीर रूपमा लिएकी छु। सदन र नीति निर्माण तहमा उठाएर आवश्यक सुधारका लागि पहल गर्नेछु,” उनले भनिन्। साथै, कानुनी सुधारका लागि व्यवसायीहरूले पनि आवश्यक सुझाव र तथ्यगत आधार उपलब्ध गराउन आग्रह गरिन्।

उनले मोबाइल मर्मत व्यवसायीहरूले पनि स्पष्ट कानुनी व्यवस्था नहुँदा अनाहकमा समस्या भोग्नुपरेको उल्लेख गरिन्। चोरी भएका मोबाइल मर्मत गर्दा मर्मत व्यवसायी नै कानुनी कारबाहीको जोखिममा पर्ने अवस्था अन्त्य गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।

सांसद थपलियाले कर छली नियन्त्रण गर्दै सम्पूर्ण कारोबारलाई राजस्वको दायरामा ल्याउनुपर्नेमा जोड दिइन्। व्यवसायी सशक्त भए मात्रै देशको अर्थतन्त्र मजबुत हुने, स्वदेशमै रोजगारीका अवसर बढ्ने र युवाको वैदेशिक पलायनसमेत कम हुने विश्वास उनले व्यक्त गरिन्।

मोबाइल व्यवसायीहरूले न्यून नाफा, कानुनी जटिलता र बजार व्यवस्थापनका चुनौती सामना गरिरहेको उल्लेख गर्दै उनले विदेशबाट भित्रिने मोबाइलको प्रभावकारी निगरानी गरी वैध व्यवसायीको संरक्षण गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij