काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको उद्देश्य गणेश नेपालीको उपचार गर्ने नरहेको आरोप लगाएका छन्।
गृहमन्त्रीले अस्पताल जाँदा क्यामरा र युट्युब बोकेर गएको आरोप लगाउँदै उनले भने, ‘गृहमन्त्रीज्यू, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ? क्यामेरामा लाइक र भ्युज पाउनका लागि गरिने स्टन्टले जनताको ज्यान बच्दैन। गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर दौडिरहनुभएको थियो पुरै क्यामरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने, आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो।’
गृहमन्त्रीले बेलैमा एयर एम्बुलेन्सको व्यवस्था गरिदिएको भए यो अवस्था नआउने उनको भनाइ छ। उनले भने,‘ आज सुविधा सम्पन्न अस्पतालमा बेलैमा उपचार गर्दिएको भए, एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए, त्यो एयरपोर्टमा दौडिनुको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ?’
उनले सरकारले कर माथि कर थपेर जनतालाई बिचल्ली अवस्था पुर्याएको आरोप लगाए। ‘सरकारको नारा अत्यन्त राम्रो छ गरिबको चमेली, बोल्दिने कोही छैन। बोल्न दे सरकार, बोल्न दे सरकार, मनको कुरा खोल्न दे सरकार’ उनले भने, ‘तर आज गरिब दुःखी जनतालाई सरकारले कर माथि कर थपेर आज बिचल्ली अवस्था पुर्याएको छ। म भन्छु गरिब दुःखी जनताको आँसु पुछिदे सरकार भन्छु।’
यस्तै, शाहीले सरकारका ऐन, नियम र निर्णयहरू केवल हुनेखानेकै पक्षमा केन्द्रित रहेको आरोप लगाए।