काठमाडौं । सरकारले आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याउने भएको छ। परराष्ट्र मन्त्रालयले राहदानी सेवालाई अझ सहज, छिटो र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ प्रणाली लागू गर्न लागेको जनाएको हो।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ प्रणालीको तयारी परराष्ट्र मन्त्रालय र राहदानी विभागबाट लगभग पूरा भइसकेको जानकारी दिए। प्रारम्भिक चरणमा केही सामान्य प्राविधिक समस्या देखिन सक्ने सम्भावना रहे पनि सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे।
उनका अनुसार नागरिकलाई सहज, सरल र भरपर्दो राहदानी सेवा उपलब्ध गराउने लक्ष्यसहित सरकारले राहदानी व्यवस्थापनमा समयानुकूल सुधार अघि बढाएको छ। यसअन्तर्गत सेवालाई आधुनिक प्रविधिसँग जोड्दै नागरिकमैत्री बनाउने तीन प्रमुख सुधारका कदम कार्यान्वयनमा ल्याइएको उनले बताए।
प्रवक्ता क्षेत्रीले छापिएका राहदानीहरू छिटो सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयसम्म पुर्याउन हुलाक विभागसँग सम्झौता सम्पन्न भइसकेको जानकारी दिए। यसबाट राहदानी वितरण प्रक्रिया थप व्यवस्थित र छरितो हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, नागरिकले देशका जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था लागू गर्ने प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ। यस व्यवस्थाले सेवामा पहुँच विस्तार हुनुका साथै नागरिकले आफ्नो अनुकूल स्थानबाटै राहदानी सेवा लिन सक्ने विश्वास सरकारको रहेको छ।