२०८३ साउन ११ सोमबार

‘झ्याप्प–झ्याप्प बत्ती’को समस्या सक्षम नेतृत्व अभावको परिणाम : कुलमान घिसिङ

ई आर्थिक    बिहिबार, असार २५ २०८३
456
Shares
‘झ्याप्प–झ्याप्प बत्ती’को समस्या सक्षम नेतृत्व अभावको परिणाम : कुलमान घिसिङ

“समिति बनाएर विद्युत् प्रणाली चल्दैन, निर्णय गर्न सक्ने नेतृत्व चाहिन्छ,” घिसिङले भनेका छन्।

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशभर देखिएको ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या नेपाल विद्युत् प्राधिकरणमा नेतृत्वको अभावका कारण उत्पन्न भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले वर्षायाममा प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् आपूर्ति अवरुद्ध हुनु ऊर्जा प्रणालीको स्वाभाविक चुनौती भए पनि त्यसलाई विद्युत् उत्पादन अभाव वा प्रणाली नै असफल भएको रूपमा बुझ्न नहुने स्पष्ट पारेका छन्।

उनका अनुसार यस्ता प्राविधिक समस्या तत्काल समाधान गर्न सक्षम, अनुभवी र निर्णयक्षम नेतृत्व आवश्यक हुन्छ। तर, नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि कायममुकायम (कामु) नेतृत्वको भरमा सञ्चालन भइरहेकाले समस्या समाधानमा कठिनाइ भएको उनले टिप्पणी गरेका छन्।

घिसिङले सरकारले संस्थालाई पूर्णकालीन नेतृत्व दिन चासो नदेखाएको आरोप लगाउँदै समस्या देखिएपछि मन्त्रालयले कार्यदल वा समिति गठन गरेर जिम्मेवारीबाट पन्छिन खोजेको बताएका छन्।

“समिति बनाएर विद्युत् प्रणाली चल्दैन, निर्णय गर्न सक्ने नेतृत्व चाहिन्छ,” घिसिङले भनेका छन्।

देशभर पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिवको नेतृत्वमा विशेष कार्यदल गठन गरेको छ।

घिसिङले प्रशासनिक अन्योल, निर्णय प्रक्रियामा ढिलाइ र राजनीतिक हस्तक्षेपको असर अन्ततः सर्वसाधारणले बेहोर्नुपरेको उल्लेख गरेका छन्। ऊर्जा क्षेत्रलाई राजनीतिक प्रयोगशाला बनाउन नहुने भन्दै उनले यो क्षेत्र देशको अर्थतन्त्र, उद्योग, सेवा र जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएको बताएका छन्।

उनले सरकारलाई नेपाल विद्युत् प्राधिकरणमा तत्काल पूर्णकालीन, सक्षम र अधिकारसम्पन्न नेतृत्व नियुक्त गर्न आग्रह गरेका छन्। साथै निर्माणाधीन प्रसारण तथा वितरण प्रणालीलाई शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने, विद्युत् प्रणालीको आधुनिकीकरण, नियमित मर्मत–सम्भार, विश्वसनीयता अभिवृद्धि तथा आपत्कालीन प्रतिक्रिया प्रणालीलाई थप प्रभावकारी बनाउन पनि ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

घिसिङले समस्या पहिचान भइसकेको उल्लेख गर्दै अब त्यसको समाधान गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij