२०८३ साउन ९ शनिबार

अस्थायी बाँधको सिँचाइबाट ४०० बिघा धान रोपाई, दीर्घकालीन सिँचाइ समाधानका लागि स्थायी संरचना निर्माणको माग

ई आर्थिक    बुधबार, असार २४ २०८३
589
Shares
अस्थायी बाँधको सिँचाइबाट ४०० बिघा धान रोपाई, दीर्घकालीन सिँचाइ समाधानका लागि स्थायी संरचना निर्माणको माग

सप्तरी । पर्याप्त वर्षा नहुँदा मधेश प्रदेशका अधिकांश जिल्लामा धान रोपाइँ प्रभावित भइरहेका बेला सप्तरीको रुपनी गाउँपालिकाका किसानले भने खाँडो नदीको अस्थायी बाँधबाट केही राहत पाएका छन्। नदीको पानी कुलोमार्फत खेतसम्म पुगेपछि करिब ४०० बिघा जमिनमा धान रोपाइँ सुरु भएको छ।

असारको तेस्रो सातासम्म पनि पर्याप्त वर्षा नपर्दा किसान चिन्तित बनेका थिए। तर रुपनी गाउँपालिका–१ स्थित खाँडो नदीमा निर्माण गरिएको अस्थायी बाँधबाट पानी खेततर्फ मोडिएपछि केही दिनअघिसम्म चिरा परेको खेत अहिले पानीले भरिन थालेको छ। यससँगै किसानको अनुहारमा पनि खुसी फर्किएको छ।

खाँडो–मरघटिया सिँचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष राजेन्द्रप्रसाद यादवका अनुसार सिँचाइ डिभिजन कार्यालय सप्तरीको सहयोगमा नदीदेखि खेतसम्म करिब २.५ किलोमिटर लामो कुलो निर्माण गरिएको छ। उक्त कुलोमध्ये ४१ मिटर पक्की र बाँकी भाग कच्ची रहेको छ। एक मिटरभन्दा बढी चौडाइको कुलोमार्फत अहिले नियमित रूपमा खेतमा पानी पुगिरहेको उहाँले जानकारी दिनुभयो।

यद्यपि उहाँले हालको व्यवस्था अस्थायी मात्रै भएकाले दीर्घकालीन समाधानका लागि नदीको मुहानमा स्थायी ड्याम निर्माण आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार स्थायी ड्याम बनेमा एक हजार बिघाभन्दा बढी खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा विस्तार गर्न सकिनेछ।

स्थायी ड्यामको माग

स्थानीय किसानहरूका अनुसार अस्थायी बाँधले अहिले राहत दिएको भए पनि बाढी आउँदा यो संरचना बग्ने भएकाले भरपर्दो सिँचाइका लागि स्थायी ड्याम निर्माण अपरिहार्य छ।

स्थानीय किसान सफिद मियाँले प्रत्येक वर्ष अस्थायी बाँध निर्माण गर्नुको सट्टा स्थायी संरचना बनाए किसानले पानीको समस्या सधैँका लागि समाधान गर्न सक्ने बताउनुभयो।

यस्तै, रुपनी गाउँपालिका–१ का पूर्व वडाध्यक्ष पिताम्बर यादवले खाँडो खोलाको मरघटिया क्षेत्रमा स्लुइस गेटसहितको स्थायी ड्याम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार यस्तो संरचना भएको भए अहिलेको खडेरीमा किसानले सिँचाइ अभाव झेल्नुपर्ने अवस्था आउने थिएन।

स्थानीय तहको बजेटले सम्भव छैन

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले स्थायी ड्याम निर्माण गाउँपालिकाको सीमित बजेटबाट सम्भव नभएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार प्रदेश र संघीय सरकारसँग पटक–पटक पहल गरिए पनि हालसम्म आवश्यक बजेट सुनिश्चित हुन सकेको छैन।

उहाँले स्थायी ड्याम निर्माण भए हजारौँ बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार हुने, कृषि उत्पादन उल्लेख्य रूपमा बढ्ने र हजारौँ किसानको जीविकोपार्जनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो।

हाल अस्थायी बाँधले खडेरीका बीच किसानलाई राहत दिए पनि खाँडो नदीको पानीको दीर्घकालीन सदुपयोग र कृषि उत्पादन वृद्धि गर्न स्थायी ड्याम निर्माण नै दीर्घकालीन समाधान हुने स्थानीयको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij