२०८३ साउन ११ सोमबार

रोनाल्डोको विश्वकप यात्रा राउन्ड अफ–१६ मै समाप्त, स्पेनको लगातार छैटौँ क्लिन सिट

ई आर्थिक    मंगलबार, असार २३ २०८३
380
Shares
रोनाल्डोको विश्वकप यात्रा राउन्ड अफ–१६ मै समाप्त, स्पेनको लगातार छैटौँ क्लिन सिट

डलास । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको डलासस्थित रंगशालामा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको दोस्रो अतिरिक्त हाफमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए।

फेरान टोरेसको उत्कृष्ट थ्रु बललाई सदुपयोग गर्दै मेरिनोले पोर्चुगलका गोलकिपर डियोगो कोस्टालाई बिट गर्दै गोल गरेका थिए। यही गोल स्पेनको जितका लागि पर्याप्त बन्यो।

यो जितसँगै स्पेनले सन् २०१० मा विश्वकप उपाधि जितेपछि पहिलो पटक क्वाटरफाइनल यात्रा तय गरेको हो। यसअघि लगातारका संस्करणमा स्पेन अन्तिम आठमा पुग्न असफल हुँदै आएको थियो।

यता, पोर्चुगलको विश्वकप यात्रा भने राउन्ड अफ–१६ मै टुंगिएको छ। ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोका लागि यो करिअरको छैटौँ तथा सम्भावित अन्तिम विश्वकप बन्यो। खेलपछि मैदान छाड्दा उनी भावुक देखिएका थिए। खेलअघि उनले आफ्नो अन्तिम विश्वकपको प्रत्येक क्षणको आनन्द लिन चाहेको बताएका थिए। रोनाल्डोले विश्वकपमा आफ्नो करिअरभर ११ गोल गरेका छन्।

स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले निर्णायक गोलकर्ता मेरिनोको खुलेर प्रशंसा गरे। उनले भने, “मिकेल मेरिनोले कहिल्यै निराश पार्दैनन्। उनी भरपर्दो खेलाडी हुन्। उनले हामीलाई युरो जिताउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए। उनी असाधारण खेलाडी हुन्।”

पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने हारका बाबजुद आफ्ना खेलाडीहरूको प्रदर्शनप्रति गर्व व्यक्त गरे। उनले भने, “हामीले गर्व गर्नुपर्ने प्रदर्शन गरेका छौँ। खेलाडीहरूले मैदानमा आफ्नो सम्पूर्ण शक्ति र समर्पण दिएका छन्। हामीले उत्कृष्ट टोलीविरुद्ध अन्तिमसम्म संघर्ष गर्‍यौँ।”

स्पेनले यस विश्वकपमा लगातार छैटौँ क्लिन सिट कायम गर्दै नयाँ कीर्तिमानसमेत बनाएको छ। गोलकिपर उनाई सिमोनले आफ्नो गोलरहित समय ६०९ मिनेटसम्म पुर्‍याएका छन्।

अब स्पेनले क्वाटरफाइनलमा बेल्जियम र अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij