१०० दिने उपलब्धि सार्वजनिक गर्दै सरकारले भन्यो– यस वर्ष उखु किसानले लामो समय भुक्तानी कुर्नुपरेन
काठमाडौं। चालु आर्थिक वर्षमा देशभरका १३ वटा चिनी मिलले उखु किसानलाई दिनुपर्ने कुल भुक्तानीमध्ये करिब ९२ प्रतिशत रकम वितरण गरिसकेको सरकारले जनाएको छ।
वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये अधिकांश रकम मिलहरूले भुक्तानी गरिसकेको जानकारी दिए।
उनका अनुसार विगतमा उखु किसानले भुक्तानीका लागि छदेखि आठ महिनासम्म कुर्नुपर्ने अवस्था रहेकामा यस वर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने प्रभावकारी व्यवस्था गरिएको छ।
सरकारले उपलब्ध गराउने प्रतिक्विन्टल ७० रुपैयाँका दरले करिब एक अर्ब ५२ करोड रुपैयाँ अनुदान सम्बन्धित निकायमा निकासा भइसकेको र असार २५ भित्र किसानको बैंक खातामा जम्मा हुने क्रममा रहेको प्रवक्ता पोखरेलले बताए।
बैंक खाता वा प्यानसम्बन्धी प्राविधिक विवरण नमिलेका कारण रोकिएका केही किसानको बाँकी भुक्तानी पनि तत्काल उपलब्ध गराउने व्यवस्था मिलाइएको सरकारको १०० दिने उपलब्धि विवरणमा उल्लेख छ।
सरकारले कृषि बजार सूचना प्रणाली सञ्चालन तथा चिस्यान केन्द्र स्थापना गर्न आवश्यक बजेट व्यवस्था गरिएको जनाएको छ। साथै, किसानलाई ‘स्वाइल हेल्थ कार्ड’ वितरण र माटो परीक्षणको कार्यलाई पनि अघि बढाइएको छ।
कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न तीन करोड रुपैयाँसम्मको कृषि कर्जामा लाग्ने जोखिम भार ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको सरकारको दाबी छ।
यस्तै, देशभरका किसानलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने अभियानअन्तर्गत हालसम्म २५ लाख ५८ हजार १९८ लक्षित किसानमध्ये सात लाख ५० हजार किसानको विवरण प्रमाणीकरण गरिएको छ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावित परिवारलाई राहत वितरणको कार्य जारी रहेको तथा समस्याको दीर्घकालीन समाधानका लागि अध्ययन समितिले सक्रिय रूपमा काम गरिरहेको सरकारले जनाएको छ।