२०८३ साउन १० आइतबार

पोखरा महानगरको बजेट पारित, सात अर्ब १५ करोड २५ लाख बजेट विनियोजन

ई आर्थिक    बिहिबार, असार १८ २०८३
836
Shares
पोखरा महानगरको बजेट पारित, सात अर्ब १५ करोड २५ लाख बजेट विनियोजन

कास्की ।  पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ।

नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट सात अर्ब १५ करोड २५ लाख रुपैयाँ सर्वसम्मतिले पास गरेको हो।

महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा संघीय सरकार सशर्त अनुदानबाट दुई अर्ब ६१ करोड ९१ लाख, संघीय सरकार विशेष अनुदानबाट पाँच करोड ५० लाख, समपूरक अनुदान एक करोड ८२ लाख, समानीकरण अनुदान ४९ करोड ३७ लाख गरी संघीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान तीन अर्ब १८ करोड ६० लाख रुपैयाँ रहेको छ।

यसैगरी गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ ६० लाख, विशेष अनुदान ४० लाख र समानीकरण अनुदान तर्फ आठ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणको कुल योगदान नौ करोड १५ लाख ३६ हजार रुपैयाँ रहेको छ।

राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट प्राप्त हुने ३४ करोड ३४ लाख ७३ हजार, राजस्व बाँडफाँट गण्डकी प्रदेश सरकारबाट चार करोड ९ लाख ८६ हजार, राजस्व बाँडफाँट स्थानीय सरकारतर्फ एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ हुनेछ। कुल विनियोजनमा चालु खर्चतर्फ ५५.१५ तथा पुँजीगत खर्चतर्फ ४४.९५ प्रतिशत रहेको छ।

नगरसभाले पोखरा महानगरपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन सहित कार्यपालिकाबाट सिफारिस भइआएका विधेयक, संशोधन विधेयक, मापदण्ड लगायत कानुनहरू समेत पास गरेको छ। महानगर प्रमुख धनराज आचार्यले नगरसभालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने नगरसभासदस्यहरु प्रति आभार व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij