काठमाडौं। नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलोपटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै महत्वपूर्ण सफलता हासिल गरेको छ। करिब सात वर्षसम्म अलपत्र परेको मर्स्याङ्दी करिडोरअन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय पहलमा डेढ वर्षभित्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ।
यससँगै निजी क्षेत्रले जलविद्युत उत्पादनमा मात्र नभई प्रसारण लाइन निर्माण तथा भविष्यमा विद्युत व्यापारसमेत गर्न सक्ने क्षमता रहेको स्पष्ट भएको ऊर्जा क्षेत्रका सरोकारवालाहरूको भनाइ छ।
यो प्रसारण लाइनको प्रारम्भिक निर्माणको जिम्मा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले २०७४ साल कार्तिकमा पाएको थियो। तर सात वर्षभन्दा बढी अवधिसम्म पनि कम्पनीले ८४ वटा टावरमध्ये ३५ वटाको फाउन्डेसन र १० वटा टावरको इरेक्सन मात्र सम्पन्न गर्न सकेपछि नेपाल विद्युत प्राधिकरणले २०८१ मंसिर ५ गते निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई हस्तान्तरण गरेको थियो।
त्यसपछि मर्स्याङ्दी करिडोरका सात जलविद्युत आयोजनाले संयुक्त रूपमा करिब ४ करोड ९७ लाख रुपैयाँ लगानी गरी भीभा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सर्न तथा भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीमार्फत निर्माण कार्य अघि बढाएका थिए।
निर्माण समन्वयका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का तत्कालीन उपाध्यक्ष तथा हालका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिमा पिपुल्स हाइड्रोका आयोजना निर्देशक अर्जुन गौतम र आशुतोष इनर्जी लिमिटेडका अध्यक्ष मोहनविक्रम कार्की सदस्य थिए। समितिले निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै तोकिएको समयभित्र आयोजना सम्पन्न गराएको जनाइएको छ।
निजी क्षेत्रले जिम्मेवारी लिएपछि निर्माण कार्यले तीव्र गति लिएको थियो। हाल ८४ वटै टावरको फाउन्डेसन सम्पन्न भएको छ भने ७८ वटा टावरको इरेक्सन सकिएको छ। गत वर्षसम्म उल्लेखनीय प्रगति हुन नसकेको २८ किलोमिटर प्रसारण लाइन अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।
यस प्रसारण लाइनमा ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दी खोला–१, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८.६० मेगावाटको चेपे खोला तथा ९.०५ मेगावाटको सुपर चेपेखोला जलविद्युत आयोजनाले लगानी गरेका छन्।
इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले सात वर्षसम्म सम्पन्न हुन नसकेको आयोजना निजी क्षेत्रले डेढ वर्षमै पूरा गरेर ऊर्जा पूर्वाधार विकासमा नयाँ इतिहास रचेको बताए। उनका अनुसार प्रसारण लाइन अभावका कारण उत्पादित विद्युत खेर जाने अवस्था अन्त्य गर्न निजी क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको छ।
नेपाल विद्युत प्राधिकरणले पनि मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको पुष्टि गर्दै परीक्षणका रूपमा २२० केभी विद्युत प्रवाह सुरु गरिएको जनाएको छ। परीक्षण सफल भएपछि लाइन नियमित सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ।
तनहुँको आँबुखैरनीस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको भरतपुरस्थित न्यू भरतपुर सबस्टेसनसम्म फैलिएको यो २८ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन (हाल एक सर्किट सञ्चालन) मर्स्याङ्दी, दोर्दी, त्रिशूली तथा तिनका सहायक नदीहरूमा निर्माण भएका र निर्माणाधीन निजी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्वपूर्ण मानिएको छ।
पूर्व ऊर्जा मन्त्री तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले यो उपलब्धिलाई नेपालको ऊर्जा विकासका लागि कोशेढुंगा भएको बताएका छन्। प्रारम्भिक निर्माण कम्पनीबाट समयमै काम सम्पन्न नहुने अवस्था देखिएपछि निजी क्षेत्रका प्रवर्द्धकहरूले स्वयं निर्माणको जिम्मेवारी लिएर आयोजना सम्पन्न गर्नु सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट उदाहरण भएको उनको भनाइ छ।
उनले मर्स्याङ्दी करिडोरको बाँकी खण्ड पनि शीघ्र सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै वन कटानी, जग्गा अधिग्रहण तथा कानुनी प्रक्रियामा हुने ढिलाइ हटाउन आवश्यक कानुनी सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
यसैबीच नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनमा उच्च भोल्टेज विद्युत प्रवाह भइरहेकाले लाइन आसपासका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। टावरमा नचढ्न, विद्युतीय संरचना नछुन, टावर वरपर नजान तथा कुनै असामान्य अवस्था देखिएमा तत्काल प्रहरी वा प्राधिकरणको कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।
ऊर्जा क्षेत्रका विज्ञहरूका अनुसार मर्स्याङ्दी करिडोर प्रसारण लाइनको सफल निर्माणले निजी क्षेत्र जलविद्युत उत्पादनमा मात्र सीमित नभई प्रसारण पूर्वाधार निर्माण, सञ्चालन तथा भविष्यमा विद्युत व्यापारसम्म जिम्मेवारी वहन गर्न सक्षम रहेको पुष्टि गरेको छ। उपयुक्त नीति र कानुनी व्यवस्था भए देशभर प्रसारण पूर्वाधार विस्तारमा निजी क्षेत्रको भूमिका अझ प्रभावकारी बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।