काठमाडौं। काठमाडौं महानगरपालिकाले इन्द्रचोकदेखि विशालबजारसम्म परम्परागत (भिन्टेज) शैलीका सडकबत्ती जडान गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ।
ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रको मौलिक पहिचान संरक्षण गर्दै रात्रिकालीन शहरी सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले परम्परागत डिजाइनका सडकबत्ती जडान गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरका अनुसार सडकबत्ती सञ्चालनमा आएपछि इन्द्रचोक–विशालबजार क्षेत्रको रात्रिकालीन दृश्य थप आकर्षक बन्नेछ। साथै, स्थानीय बासिन्दा, व्यवसायी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ।
महानगरले पुरानो शहर क्षेत्रको ऐतिहासिक स्वरूप जोगाउँदै आधुनिक शहरी सुविधा विस्तार गर्ने योजनाअन्तर्गत यो काम अघि बढाइएको जनाएको छ। सडकबत्ती जडान सम्पन्न भएपछि यस क्षेत्रको सांस्कृतिक पहिचान थप उजागर हुनुका साथै रातिको समयमा सुरक्षा र सौन्दर्य दुवैमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
