काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन १९ दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको ७५.१७ प्रतिशत मात्र प्रगति हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले कुल रु ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व संकलन गरेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि रु १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। लक्ष्य पूरा गर्न अब बाँकी १९ दिनमा रु ३ खर्ब ६७ अर्ब ५१ करोड संकलन गर्नुपर्नेछ, जसका लागि दैनिक औसत रु १९ अर्ब ३४ करोड राजस्व उठाउन आवश्यक पर्ने देखिएको छ।
महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार कर राजस्व संकलन लक्ष्यको ७६.२० प्रतिशत पुगेको छ। कर राजस्वतर्फ रु १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु १० खर्ब १० अर्ब १६ करोड ३ लाख संकलन भएको छ।
यस्तै, गैरकर राजस्वतर्फ रु १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु १ खर्ब २ अर्ब ३२ करोड ४३ लाख प्राप्त भएको छ। अनुदानतर्फ भने रु ५३ अर्ब ४४ करोड ६९ लाख प्राप्त गर्ने लक्ष्य रहेकामा हालसम्म रु २४ अर्ब ११ करोड १२ लाख मात्रै प्राप्त भएको छ, जुन लक्ष्यको ४५.११ प्रतिशत हो।
यस अवधिमा अन्य प्राप्ति शीर्षकबाट रु ६ अर्ब ५० करोड ५३ लाख संकलन भएको छ। यससँगै सरकारको कुल प्राप्ति रु ११ खर्ब ४३ अर्ब १० करोड ११ लाख पुगेको छ, जुन वार्षिक लक्ष्यको ७४.५४ प्रतिशत हो।
उता सरकारी खर्च भने रु १४ खर्ब ४ करोड ९८ करोड ८६ लाख पुगेको छ, जुन कुल बजेट लक्ष्यको ७१.५३ प्रतिशत बराबर हो। शुक्रबार मात्रै सरकारले रु ५ अर्ब ३६ करोड ८२ लाख खर्च गरेको छ।
खर्चको प्रकृतिअनुसार चालु खर्चतर्फ ८०.४२ प्रतिशत प्रगति भएको छ। चालु खर्चका लागि विनियोजित रु ११ खर्ब ८० अर्ब ९८ करोड मध्ये हालसम्म रु ९ खर्ब ४९ अर्ब ७५ करोड ९५ लाख खर्च भएको छ।
विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्च भने अपेक्षाकृत कमजोर देखिएको छ। पूँजीगततर्फ रु ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म रु १ खर्ब ४२ अर्ब २३ करोड ६८ लाख मात्रै खर्च भएको छ, जुन लक्ष्यको ३४.८७ प्रतिशत हो।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ रु ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख बजेटमध्ये रु ३ खर्ब १२ अर्ब ९९ करोड २३ लाख खर्च भइसकेको छ। यो लक्ष्यको ८३.४१ प्रतिशत बराबर रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।