२०८३ साउन १० आइतबार

नेपाल–भुटान पर्यटन सहकार्यमा नयाँ पहल, पारो–लुम्बिनी सिधा उडान प्रस्ताव

ई आर्थिक    आइतबार, असार १४ २०८३
551
Shares
नेपाल–भुटान पर्यटन सहकार्यमा नयाँ पहल, पारो–लुम्बिनी सिधा उडान प्रस्ताव

भैरहवा । नेपाल र भुटानबीच पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले लुम्बिनीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। वार्तामा दुवै देशबीच हवाई सम्पर्क विस्तार, बौद्ध धार्मिक पर्यटन प्रवर्द्धन तथा नेपाली नागरिकको भुटान भ्रमणलाई सहज बनाउने विषयमा विशेष छलफल भएको हो।

भुटान सरकारले लुम्बिनीमा निर्माण गर्न लागेको भुटानी गुम्बाको शिलान्यासका अवसरमा आयोजित वार्तामा नेपालले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र नेपालको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबिच सिधा हवाई सेवा सञ्चालनको प्रस्ताव अघि सारेको छ।

लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव ज्ञानिन राईका अनुसार नेपालले भुटानको राष्ट्रिय वायुसेवा ड्रुक एयरमार्फत पारो–लुम्बिनी–बोधगया हवाई मार्ग सञ्चालन गर्न आग्रह गरेको छ। यसबाट लुम्बिनी, पारो र बोधगयालाई जोड्दै बौद्ध धार्मिक पर्यटनमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

द्विपक्षीय वार्तामा नेपालले भुटान भ्रमण गर्ने नेपाली नागरिकले तिर्नुपर्ने दिगो विकास शुल्क (एसडीएफ) मा पुनर्विचार गर्न पनि आग्रह गरेको छ। हाल नेपाली पर्यटकले पनि तेस्रो मुलुकका पर्यटकसरह प्रतिव्यक्ति प्रतिदिन १०० अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ। नेपालले भारत र बंगलादेशका नागरिकलाई उपलब्ध सहुलियत नेपालीलाई पनि दिन अनुरोध गरेको जनाएको छ।

भुटानी पक्षले नेपालका प्रस्तावहरूलाई सकारात्मक रूपमा लिँदै सरकारी तहमा थप अध्ययन र आवश्यक छलफल गर्ने प्रतिबद्धता जनाएको छ।

वार्तासँगै लुम्बिनीमा निर्माण हुन लागेको भुटानी गुम्बाको संयुक्त रूपमा शिलान्यास गरिएको छ। गुम्बाको शिलान्यास भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल तथा भुटानका धर्मगुरु दोर्जे लोपेनले संयुक्त रूपमा गरेका हुन्।

भुटान सरकार र लुम्बिनी विकास कोषबीच गत वर्ष गुम्बा निर्माणसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो। सोहीअनुसार सीमा पर्खाल निर्माण सम्पन्न भइसकेको छ भने मुख्य गुम्बा निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij