इलाम : भारततर्फ नेपाली चियाको निर्यातमा समस्या उत्पन्न भएपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाका ५३ वटा चिया उद्योग शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएका छन्।
सूर्योदय नगरपालिका चिया समस्या समाधान समिति र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीच बिहीबार भएको छलफलमा तीन बुँदे सहमति भएपछि उद्योग सञ्चालन गर्ने निर्णय गरिएको हो।
सहमतिअनुसार निर्यात हुन नसकी गोदाममा थन्किएको चिया भण्डारणका लागि नगरपालिकाले व्यवस्थित भण्डारण कक्ष उपलब्ध गराउने, चिया निर्यात सहज नभएसम्म किसानको भुक्तानी उद्योगहरूले केही समयका लागि रोक्ने तथा चियाको गुणस्तर सुधारका लागि विषादी प्रयोग पूर्ण रूपमा नियन्त्रण गर्ने निर्णय गरिएको छ।
चिया समस्या समाधान समितिका संयोजक पेमा उगेन लामाका अनुसार भारततर्फ चिया निर्यात ठप्प भएपछि नगरभित्रका ५३ उद्योग बन्द भएका थिए। उद्योग बन्द हुँदा किसानको हरियो चिया खेर जाने अवस्था सिर्जना भएपछि उद्योग सञ्चालनका लागि सहमति जुटाइएको हो।
नगरपालिकाले हाल उद्योगहरूमा थन्किएको करिब १० लाख किलोग्राम अर्थोडक्स चिया भण्डारण गर्न आवश्यक पूर्वाधार उपलब्ध गराउने जनाएको छ। आवश्यक परे एक सिजनमा उत्पादन हुने ३० लाख किलोग्रामसम्म चिया भण्डारण गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ। भण्डारण गरिएको चियाको सुरक्षाको जिम्मेवारी पनि नगरपालिकाले लिनेछ।
भण्डारण कक्ष व्यवस्थापनका लागि आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको नेतृत्वमा उद्योगी सहभागी समिति गठन गरिएको छ। समितिले एक साताभित्र भण्डारण कक्ष व्यवस्थापनको काम सम्पन्न गर्ने जनाएको छ।
यस्तै, बजार सहज भई निर्यात पुनः सुचारु नभएसम्म किसानको भुक्तानी गर्न उद्योगहरू असमर्थ रहेको भन्दै अस्थायी रूपमा भुक्तानी रोक्ने सहमति भएको छ।
चियाको गुणस्तर सुधार र विषादी नियन्त्रणका लागि शुक्रबारदेखि नगरपालिकाका सबै १० वटै वडामा किसान, उद्योगी र स्थानीय तहबीच सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले जानकारी दिनुभयो। उहाँका अनुसार गुणस्तरीय चिया उत्पादन नभएसम्म निर्यातमा समस्या दोहोरिने भएकाले किसानलाई सचेत गराउन विशेष अभियान थालिएको हो।
उद्योगहरू लामो समय बन्द हुँदा सूर्योदय क्षेत्रका किसानले उत्पादन गरेको हरियो चिया झापाका सिटीसी उद्योगमा बिक्री गर्दै आएका छन्। दैनिक ६० देखि ७० गाडीसम्म हरियो चिया झापा पठाइँदै आएको बताइएको छ।
यसैबीच, संघीय सरकारले पनि चिया क्षेत्रका समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ। उक्त समिति निकट भविष्यमा इलाम पुगेर उद्योगहरूको अवस्था अध्ययन गर्ने तयारीमा रहेको जनाइएको छ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका कार्यवाहक अध्यक्ष ज्ञानु लिम्बुले उद्योग लामो समय बन्द हुँदा किसान र उद्योगी दुवै मारमा परेको बताउँदै निर्यात समस्या समाधान हुने अपेक्षासहित उद्योग सञ्चालन गर्न सहमत भएको जानकारी दिनुभयो।
भारतको चिया बोर्डले मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर (एसओपी)’ अनुसार नेपालबाट निर्यात हुने प्रत्येक खेपको चियामा अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यात प्रभावित भएको हो।
नयाँ व्यवस्थाअनुसार प्रत्येक गाडीको चियाको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण गर्नुपर्ने, परीक्षणका लागि ११ हजार ५०० भारतीय रुपैयाँ शुल्क लाग्ने तथा प्रतिवेदन आउन १५ दिनभन्दा बढी समय लाग्ने भएकाले उद्योगीहरू समस्यामा परेका छन्। परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने तथा गुणस्तर मापदण्ड नपुगे चिया नष्ट गर्नुपर्ने प्रावधानले निर्यात प्रक्रिया थप जटिल बनेको उद्योगीहरूको भनाइ छ।
नेपालले वार्षिक करिब १५ हजार ६ सय मेट्रिक टन चिया निर्यात गर्दै आएको छ, जसको करिब ८६ प्रतिशत हिस्सा भारतीय बजारमा जाने गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले १ करोड ५६ लाख केजी चिया निर्यात गरी ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।