मुगु । कर्णाली नदीको पानी आधुनिक लिफ्ट प्रविधिमार्फत गाउँसम्म पुर्याएर सिँचाइ सुविधा विस्तार गर्ने योजना सुरु भएपछि मुगुको रुगागाउँका स्थानीयवासी उत्साहित भएका छन्। वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानका लागि यो आयोजना आशाको नयाँ आधार बनेको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना मुगुले छायानाथ रारा नगरपालिका–१३ स्थित रुगागाउँमा लिफ्ट सिँचाइ प्रणाली निर्माणको काम अघि बढाएको हो। आयोजनाबाट गाउँका ८८ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ।
आयोजनाका सिनियर डिभिजन प्रमुख तेजनारायण महतोका अनुसार कर्णाली नदीबाट करिब ३६० मिटर माथिसम्म पानी तानेर सङ्कलन पोखरीमा जम्मा गरिनेछ। त्यसपछि उक्त पानी पाइपलाइनमार्फत गाउँभरिका खेतीयोग्य जमिनमा वितरण गरिने योजना रहेको छ।
स्थानीय किसान रतन बडुवालका अनुसार सिँचाइको सुविधा नहुँदा गाउँका धेरै खेतीयोग्य जमिन बाँझै रहँदै आएका थिए। “हामी वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्न बाध्य थियौँ। अब लिफ्ट सिँचाइ योजना सञ्चालनमा आएपछि वर्षभरि तरकारी तथा अन्य बाली उत्पादन गर्न सकिनेछ,” उनले भने।
उनका अनुसार आयोजनाले स्थानीय किसानलाई कृषि उत्पादन वृद्धि गर्न, व्यावसायिक खेतीतर्फ आकर्षित गर्न तथा आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुर्याउनेछ। सिँचाइ सुविधा विस्तारसँगै गाउँको कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
आयोजनाको कुल लागत १ करोड ७६ लाख ९१ हजार २३५ रुपैयाँ रहेको छ। निर्धारित समयभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना मुगुले यस योजनामार्फत कृषि उत्पादन वृद्धि, तरकारी खेती प्रवर्द्धन, खाद्य सुरक्षामा सुधार तथा स्थानीय बासिन्दाको आयआर्जन र जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्य राखेको जनाएको छ।
स्थानीयका अनुसार योजना सम्पन्न भएपछि रुगागाउँमा कृषि क्षेत्रमा नयाँ परिवर्तन आउने र रोजगारी तथा आर्थिक गतिविधि समेत बढ्ने अपेक्षा गरिएको छ।