काठमाडौं ।एनआईसी एसियाले आफ्नो नाममा रहेका बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले एक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकका अनुसार उक्त पोर्टलमार्फत लिलाम बिक्रीका लागि राखिएका सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण सूचना तथा विवरण एकै स्थानबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
लिलाम बिक्री सम्बन्धी प्रकाशित सूचनामा समावेश गरिएको क्यूआर कोड स्क्यान गरी ग्राहकहरूले पोर्टलमा प्रवेश गर्न सक्नेछन्। पोर्टलभित्र लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा सम्पत्तिको स्थान पहिचानका लागि गुगल म्यापसमेत उपलब्ध हुने बैंकले जनाएको छ।
त्यसैगरी, ग्राहकहरूले आफूले खरिद गर्न इच्छुक सम्पत्तिको बारेमा थप जानकारी आवश्यक परेमा सम्बन्धित सम्पत्तिको विवरण रहेको पृष्ठमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर तथा सम्पर्क ठेगाना उल्लेख गरी सिधै बैंकलाई सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार उक्त अनलाइन पोर्टलमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलामयोग्य सम्पत्तिहरूका साथै लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू नियमित रूपमा प्रकाशन गरिनेछ।
बैंकले यस व्यवस्थाबाट लिलाम प्रक्रियालाई थप पारदर्शी, सहज र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गर्दै इच्छुक ग्राहकहरूलाई पोर्टलमार्फत सम्पत्तिको विस्तृत जानकारी प्राप्त गरी लाभ लिन आग्रह गरेको छ।