उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्थापन शाखाको औपचारिक सञ्चालन सुरु गरेको छ। नगरपालिकाले शाखा स्थापना भएसँगै जग्गा व्यवस्थापन तथा पुर्जा वितरणको कार्यलाई थप प्रभावकारी र तीव्र बनाउने जनाएको छ।
शाखा उद्घाटन कार्यक्रममा नगरप्रमुख कालुमान लामाले संघीय स्तरमा विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने अभियान चलिरहेको सन्दर्भ उल्लेख गर्दै चौदण्डीगढीमा भने नागरिकको घरटहरा नभत्काई व्यवस्थित बसोबासको अधिकार सुनिश्चित गरिने बताएका छन्। उनले वास्तविक भोगचलनमा रहेका नागरिकलाई कानुनी प्रक्रियाअनुसार स्वामित्व सुनिश्चित गर्दै लालपुर्जा उपलब्ध गराउनु नै नगरपालिकाको मुख्य प्राथमिकता रहेको बताए।
“हामी कसैको जमिन हडप्ने पक्षमा छैनौँ, बरु वास्तविक भोगचलन गरिरहेका नागरिकलाई प्रमाणपुर्जा उपलब्ध गराउनेतर्फ केन्द्रित छौँ,” नगरप्रमुख लामाले भने।
उनका अनुसार चौदण्डीगढी क्षेत्रमा २०३६ देखि २०४६ सालबीच वन क्षेत्र फँडानी गरी बसोबास विस्तार भएकाले हाल नगरको ६० प्रतिशतभन्दा बढी जनसंख्या लालपुर्जाविहीन अवस्थामा रहेको छ। नगरपालिकाले यस समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने योजना अघि बढाएको जनाएको छ।
भूमि व्यवस्थापन शाखा प्रमुख यज्ञकुमार श्रेष्ठका अनुसार नगरका १० वडामध्ये वडा नम्बर २, ३, ४, ५, ६ र ८ मा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संख्या बढी रहेको छ। राष्ट्रिय भूमि आयोगको नालसिस प्रणालीमा हालसम्म १० हजार १ सय ३५ घरधुरीको विवरण प्रविष्ट भइसकेको छ।
तथ्यांकअनुसार ५ सय ३४ भूमिहीन दलित, १ हजार २ सय ४३ भूमिहीन सुकुम्बासी तथा ८ हजार ३ सय ५७ घरधुरी अव्यवस्थित बसोबासी रहेका छन्।
नगरपालिकाले हालसम्म ३ सय ४३ घरधुरीलाई भोगाधिकार प्रमाण (सेतोपुर्जा) वितरण गरिसकेको जनाएको छ। भूमि व्यवस्थापन शाखा सञ्चालनसँगै लालपुर्जा वितरण प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।