२०८३ साउन ९ शनिबार

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको तयारी पूरा, २५० भन्दा बढी महिला सहकारीकर्मी सहभागी हुने

ई आर्थिक    शुक्रबार, असार ५ २०८३
988
Shares
अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको तयारी पूरा, २५० भन्दा बढी महिला सहकारीकर्मी सहभागी हुने

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता तथा सहकारी क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई अन्तर्राष्ट्रिय कृषक महिला वर्ष घोषणा गरेको सन्दर्भमा सम्मेलन अझ महत्वपूर्ण बन्ने महासंघको विश्वास छ। नेपालका ग्रामीण क्षेत्रमा ८० प्रतिशतभन्दा बढी महिलाहरू कृषि क्षेत्रमा प्रत्यक्ष संलग्न रहेको तथा देशभरका ३२ हजारभन्दा बढी सहकारी संस्थामा करिब ५६ प्रतिशत महिलाको सक्रिय सहभागिता रहेको महासंघले जनाएको छ।

महासंघका अनुसार महिलाहरूले बचत समूहदेखि सहकारी संस्थाको नेतृत्वसम्म महत्वपूर्ण योगदान पुर्‍याएका छन्। कृषि, पशुपालन, घरेलु उद्योग, हस्तकला तथा साना व्यवसायमार्फत महिलाहरूले सहकारीको माध्यमबाट ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाउन उल्लेखनीय भूमिका खेलेका छन्।

सम्मेलनले महिला किसान तथा सहकारीकर्मीहरूको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने, महिला नेतृत्व विकासलाई प्रोत्साहन गर्ने, लैंगिक उत्तरदायी नीति तथा अभ्यासलाई सुदृढ बनाउने तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूको आदानप्रदान गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा नीति संवाद, कार्यपत्र प्रस्तुति, महिला सहकारीद्वारा उत्पादित वस्तुको प्रदर्शनी, अन्तर्राष्ट्रिय प्रतिनिधिहरूका लागि सहकारी अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम तथा विश्व सम्पदा अवलोकनजस्ता गतिविधि समावेश गरिएका छन्। साथै विभिन्न देशका महिला सहकारी अभियन्ता तथा विज्ञहरूले आफ्ना अनुभव र सफलताका कथाहरू साझा गर्ने कार्यक्रम पनि रहेको छ।

महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो। एफएओ नेपाल र हेफर इन्टरनेशनल सह–आयोजकका रूपमा रहेका छन् भने राष्ट्रिय सहकारी बैंक, कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत विभिन्न वित्तीय संस्थाहरू कार्यक्रमका साझेदार रहेका छन्।

सम्मेलनमा नेपालका सातै प्रदेशबाट २५० भन्दा बढी महिला सहकारीकर्मी, पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहनेछ। साथै भारत, भुटान, थाइल्यान्ड, श्रीलंकालगायत देशका महिला सहकारी अभियन्ता तथा विज्ञहरूको समेत सहभागिता रहने महासंघले जनाएको छ।

सम्मेलनको अन्त्यमा ‘काठमाडौं घोषणापत्र–२०२६’ जारी गरिनेछ। उक्त घोषणापत्रले सहकारीमार्फत महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, सामाजिक समावेशीकरण तथा दिगो कृषि प्रणाली प्रवर्द्धनमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

महासंघले सरकार, सहकारी संघ–संस्था, महिला उद्यमी, नीति निर्माता तथा सञ्चारकर्मीहरूलाई सम्मेलनमा सहभागी भई महिला नेतृत्व र सहकारी समृद्धिको अभियानमा साथ दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij