नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरमा लिफ्ट सिँचाइ प्रणालीमार्फत खेतबारीमा पानी पुग्न थालेपछि स्थानीय किसानको जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको छ। केही वर्षअघिसम्म आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले वर्षभरि कृषि कार्यमा व्यस्त देखिन थालेका छन्।
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजना अन्तर्गत पश्चिम मूल नहरबाट लिफ्ट प्रविधिमार्फत सतही सिँचाइ सुविधा उपलब्ध भएपछि बालापुरका किसान बेमौसमी तथा व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्।
पश्चिम मूल नहर र बाँके राष्ट्रिय निकुञ्जबीच पर्ने बालापुर क्षेत्रमा विगतमा दुई बाली लगाउनसमेत कठिन हुने अवस्था थियो। तर अहिले गाउँका अधिकांश खेतबारी वर्षभरि हरियालीले ढाकिएका छन्।
बालापुर लिफ्ट सिँचाइ कृषक समूहका अध्यक्ष लोकबहादुर खत्रीका अनुसार सिँचाइ सुविधा किसानका लागि वरदान सावित भएको छ। “पहिला खेतीबाट खान पनि पुग्दैनथ्यो, अहिले खान पुगेर बचतसमेत गर्न सकेका छौँ। दुई वर्षदेखि लिफ्ट सिँचाइको पानी आउन थालेपछि पहिले बाँझो रहने खेत अहिले सधैँ हरियो हुन्छ,” उहाँले भन्नुभयो।
स्थानीय किसान उमा देवकोटाले पनि आकाशे पानीमा निर्भर खेतीका कारण उत्पादनले परिवार धान्न कठिन हुने गरेको स्मरण गर्दै अहिले तीन बाली उत्पादन गर्न सकिने अवस्था बनेको बताउनुभयो। उहाँले किसानका खेतसम्म पानी वितरणका लागि थप ‘प्वाइन्ट’ व्यवस्थापन गरिदिन आयोजनासँग आग्रहसमेत गर्नुभयो।
“सिक्टा नहरको पानी हाम्रो लागि होइन जस्तो लाग्थ्यो, तर हामी गलत रहेछौँ। आयोजनाले लिफ्ट प्रविधिबाट भए पनि खेतसम्म पानी पुर्यायो,” देवकोटाले भन्नुभयो।
सिक्टा सिँचाइ आयोजनाका संस्थागत विकास शाखाका अर्जुन न्यौपानेका अनुसार सतही सिँचाइ पुग्न नसक्ने क्षेत्रमा लिफ्ट प्रविधिमार्फत पानी पुर्याउने काम तीव्र रूपमा अघि बढाइएको छ। उहाँले पश्चिम र पूर्वी नहर आसपासका विभिन्न स्थानमा लिफ्ट प्रणाली विस्तार भइरहेको जानकारी दिनुभयो।
आयोजनाका अनुसार सिक्टा सिँचाइमार्फत करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। हालसम्म २२ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भइसकेको छ।
सतही सिँचाइ नपुग्ने १६ स्थानमा लिफ्ट प्रणालीमार्फत पानी पुर्याउने योजनाअनुसार पश्चिम नहर क्षेत्रमा चार वटा आयोजना सञ्चालनमा आइसकेका छन्। साथै, पूर्वी नहरमा ११ र पश्चिम नहरमा एक स्थानमा निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ।