काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको छ।
आइतबार सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले वृद्धि भएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम थियो।
सुनचाँदीको मूल्य लगातार बढ्दै जाँदा लगानीकर्ता तथा उपभोक्तामा यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ। बजारमा मूल्यवृद्धिको क्रम आगामी दिनमा पनि अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार निर्धारण हुने व्यवसायीहरूको भनाइ छ।