२०८३ साउन ११ सोमबार

‘निहित स्वार्थ समूहको कब्जा तोड्दै अर्थतन्त्र र प्रशासनमा व्यापक सुधार गर्दैछौं’ : अर्थमन्त्री डा. वाग्ले

ई आर्थिक    आइतबार, जेष्ठ ३१ २०८३
1.3K
Shares
‘निहित स्वार्थ समूहको कब्जा तोड्दै अर्थतन्त्र र प्रशासनमा व्यापक सुधार गर्दैछौं’ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र तथा राज्यका विभिन्न निकायमा वर्षौंदेखि कायम रहेको बेथिति र निहित स्वार्थ समूहको प्रभाव अन्त्य गर्न सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले विगत १५ वर्षदेखि देशका विभिन्न अङ्गहरू निहित स्वार्थ समूहको प्रभावमा परेको दाबी गर्नुभयो। उहाँले वर्तमान सरकारले त्यस्ता प्रवृत्तिको अन्त्य गर्दै सुशासन र पारदर्शिताको दिशामा काम गरिरहेको उल्लेख गर्नुभयो।

उहाँका अनुसार विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका कतिपय निकायसमेत स्वार्थ समूहको प्रभावमा परेका तथ्यहरू क्रमशः सार्वजनिक भइरहेका छन्। नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालासम्बन्धी मुद्दा हाल न्यायिक प्रक्रियामा रहेको उल्लेख गर्दै उहाँले एक खर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबीसहितको मुद्दाले विगतका विकृति र कमजोरीहरू उजागर गरेको बताउनुभयो।

“हामीले अहिले अर्थतन्त्र र प्रशासनमा देखिएका तमाम गडबडी सफा गर्ने अभियान सुरु गरेका छौँ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो।

उहाँले देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्यलाई चिर्न आवश्यक रहेको बताउँदै युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। विदेशिनु नपर्ने वातावरण निर्माणका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार सधैँ तयार रहेको उहाँको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले सुशासन, आर्थिक सुधार र समृद्धिको आधार तयार गर्न सरकार पाँच वर्षे स्पष्ट कार्ययोजनासहित अघि बढिरहेको दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij