२०८३ साउन १० आइतबार

आगामी आवमा ५ हजार ३३५ मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याउने लक्ष्य

ई आर्थिक    आइतबार, जेष्ठ ३१ २०८३
1.2K
Shares
आगामी आवमा ५ हजार ३३५ मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याउने लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार एक वर्षभित्र थप १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ।

मन्त्रालयका अनुसार निर्माणाधीन तथा अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष पहल गरिनेछ। साथै निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनाको कामलाई सहजीकरण गरी निर्धारित समयमै सञ्चालनमा ल्याउने योजना रहेको छ।

विद्युत् प्रसारण पूर्वाधार विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको छ। आगामी आवमा ६६ केभी प्रसारण लाइनको लम्बाइ ७ हजार ४८ सर्किट किलोमिटरबाट बढाएर ७ हजार ८०८ सर्किट किलोमिटर पुर्‍याइने लक्ष्य राखिएको छ। त्यसैगरी ३३ केभी प्रसारण लाइन ८ हजार ३२५ सर्किट किलोमिटरबाट बढेर ८ हजार ४२९ सर्किट किलोमिटर पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले आगामी वर्ष प्रतिव्यक्ति विद्युत् खपत ५११ किलोवाट घण्टा पुर्‍याउने तथा विद्युत् चुहावटलाई १२.०३ प्रतिशतमा सीमित गर्ने लक्ष्यसमेत तय गरेको छ। यस अवधिमा लघु तथा साना जलविद्युत् आयोजनाबाट ४३ मेगावाट र सौर्य ऊर्जाबाट ९९ मेगावाट विद्युत् उत्पादन थपिने जनाइएको छ।

आन्तरिक विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन आगामी आवमा १२ वटा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ती प्रसारण लाइन सञ्चालनमा आएपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज हुने तथा विद्युत् प्रवाह थप प्रभावकारी बन्ने मन्त्रालयको विश्वास छ।

सिँचाइ क्षेत्रतर्फ आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिइएको छ। त्यस्तै, ठूला तथा मझौला नदीमा थप ७० किलोमिटर तटबन्ध निर्माण गर्ने तथा २१० हेक्टर जमिन उकास्ने कार्यक्रमसमेत अघि सारिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij