काठमाडौं । गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलामा विभिन्न मुद्दा तथा माग लिएर धर्ना बसिरहेका पीडितहरूसँग सामूहिक रूपमा भेटघाट गर्ने र उनीहरूको जायज माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गृहमन्त्री गुरुङले पीडितहरूले उठाएका विषयवस्तु सरकारको गम्भीर चासोको विषय रहेको बताउँदै सम्बन्धित निकायहरूसँग समन्वय गरी समस्याको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले पीडितहरूको आवाज सुन्ने, उनीहरूको गुनासा बुझ्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने विश्वास दिलाउनुभयो।
माइतीघरमा लामो समयदेखि विभिन्न घटनाका पीडित, न्यायको माग गरिरहेका समूह तथा अधिकारकर्मीहरूले धर्ना तथा प्रदर्शन गर्दै आएका छन्। गृहमन्त्रीको यो प्रतिबद्धताले पीडितहरूका माग सम्बोधन हुने अपेक्षा बढाएको छ।
उहाँले पीडितहरूसँग चाँडै नै संयुक्त छलफलको आयोजना गरी उनीहरूको समस्या र मागबारे विस्तृत रूपमा सुनुवाइ गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभएको छ।