दर्शनार्थीको घाँटीबाट सुनका सिक्री लुटेको आरोप, दुई थान सुनका सिक्रीसहित नियन्त्रणमा
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका श्रद्धालुहरूको सुनको सिक्री लुटपाट गरेको आरोपमा पाँच जना भारतीय महिला पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरू भारतको गोरखपुर नौसर निवासी ३५ वर्षीया अन्जु चमार, २९ वर्षीया रुपसना चमार, ३० वर्षीया आरती चमार, ३५ वर्षीया रिङ्कु चमार तथा १८ वर्षीया नन्दनी चमार हुन्।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ः३० बजे पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका व्यक्तिहरूको घाँटीमा रहेको सुनको सिक्री लुटपाट गरेको सूचनापछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका महिलाहरूको साथबाट चोरी गरिएको दुई थान सुनको सिक्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। यसका लागि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।
प्रहरीले धार्मिक स्थल तथा भीडभाड हुने क्षेत्रमा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।