२०८३ साउन ११ सोमबार

दरबार हत्याकाण्ड छानबिनमा राष्ट्रपति पौडेललाई पनि अनुसन्धानको दायरामा ल्याउन ज्ञानेन्द्र शाहीको माग

ई आर्थिक    मंगलबार, जेष्ठ २६ २०८३
1.1K
Shares
दरबार हत्याकाण्ड छानबिनमा राष्ट्रपति पौडेललाई पनि अनुसन्धानको दायरामा ल्याउन ज्ञानेन्द्र शाहीको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने सरकारी निर्णयको स्वागत गर्दै वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले २०५८ सालको दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिनका लागि घटनाकालमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूसँग बयान लिन आवश्यक रहेको बताएका हुन्।

शाहीले हत्याकाण्ड भएको समयमा रामचन्द्र पौडेल गृहमन्त्रीको जिम्मेवारीमा रहेको उल्लेख गर्दै उनीमाथि पनि अनुसन्धान हुनुपर्ने धारणा व्यक्त गरे। घटनाका बेला गृह प्रशासनको नेतृत्व गरिरहेका व्यक्तिसँग सोधपुछ नगरी गरिने अनुसन्धानले पूर्णता नपाउने उनको तर्क छ।

‘दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको हार्दिक स्वागत गर्दछु,’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका, विशेषगरी तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति महामहिम रामचन्द्र पौडेललगायतलाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ।’

यसअघि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णयका रूपमा २०५८ सालको दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः खोल्ने निर्णय गरेका थिए। उक्त निर्णयपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

दरबार हत्याकाण्ड नेपालको इतिहासकै सबैभन्दा चर्चित र रहस्यमय घटनामध्ये एक मानिन्छ। सरकारले पुनः छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै घटनासम्बन्धी सत्यतथ्य उजागर हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij