काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीपक बराललाई दिइएको छ।
निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साह गत साता सेवाबाट अवकाश भएपछि रिक्त रहेको पदमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बराललाई जिम्मेवारी तोकेको हो। मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि बराललाई निगमको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको जनाएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार मन्त्रालयले सोमबार पत्राचार गर्दै बराललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरेको हो।
यसअघि निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पदबाट राजीनामा दिएपछि नागेन्द्र साहले निमित्त प्रमुखका रूपमा निगमको नेतृत्व गर्दै आएका थिए। साहको अवकाशसँगै निगमको नेतृत्व बरालले सम्हाल्ने भएका छन्।
हाल निगममा उपप्रबन्ध निर्देशकको रूपमा कार्यरत बरालसँग प्रशासनिक तथा प्राविधिक क्षेत्रमा लामो अनुभव रहेको बताइएको छ।