२०८३ साउन ११ सोमबार

हिमाली क्षेत्रमा बढ्दो असुरक्षाप्रति आरोहीहरूको चिन्ता, प्रभावकारी सुरक्षा व्यवस्था गर्न सरकारसँग माग

ई आर्थिक    सोमबार, जेष्ठ २५ २०८३
1.5K
Shares
हिमाली क्षेत्रमा बढ्दो असुरक्षाप्रति आरोहीहरूको चिन्ता, प्रभावकारी सुरक्षा व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा बढ्दो असुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पर्यटक तथा पर्वतारोहीको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ।

सङ्घले सोमबार जारी गरेको विज्ञप्तिमा सरकारले विसं २०८५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरिरहेको अवस्थामा हिमाली क्षेत्रमा देखिएको असुरक्षाले विदेशी पर्यटक तथा आरोहीहरूमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ।

विज्ञप्तिमा हिमाली क्षेत्रमा कार्यरत आरोहीहरूको सुरक्षाप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै हालै सगरमाथा क्षेत्रमा कार्यरत ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–६ का ५७ वर्षीय आरोही दावा शेर्पासँग सम्बन्धित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सङ्घका अनुसार शेर्पाको परिवारले उद्धार तथा खोजी कार्यमा सम्बन्धित ट्रेकिङ कम्पनीले बेवास्ता गरेको, खोजी कार्यमा सक्रियता नदेखाएको तथा गैरजिम्मेवार अभिव्यक्ति दिएको गुनासो गरेको छ। साथै दोस्रो आधार शिविरमा ‘कुक’का रूपमा कार्यरत व्यक्तिलाई चौथो आधार शिविरसम्म जान दबाब दिइएको र उनी छ दिनसम्म बेपत्ता रहँदा खोजी कार्य कसरी सञ्चालन गरियो भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको सङ्घको भनाइ छ।

सङ्घले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ। साथै हिमाली क्षेत्रमा कार्यरत श्रमिक तथा आरोहीहरूको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

दावा शेर्पाको परिवारप्रति ऐक्यबद्धता जनाउँदै सङ्घले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij