काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यसम्बद्ध पत्रकारहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
आज आयोजित कार्यक्रममा मन्त्रालयको नेतृत्व सम्हालेदेखि हालसम्म सम्पादन गरिएका कार्य, स्वास्थ्य क्षेत्रका उपलब्धि, चुनौती तथा आगामी योजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा पत्रकारहरूले मन्त्रालयका गतिविधि, स्वास्थ्य सेवा प्रवाह, नीति तथा कार्यक्रम कार्यान्वयनलगायत विविध विषयमा जिज्ञासा राखेका थिए।
कार्यक्रममा मन्त्रालयका मन्त्रीले उठाइएका प्रश्नहरूको जवाफ दिँदै स्वास्थ्य क्षेत्रको सुधार, सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले विभिन्न सुधारात्मक पहलहरू अघि बढाएको र आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
छलफलका क्रममा स्वास्थ्य क्षेत्रका विद्यमान चुनौती, समाधानका प्रयास, आगामी कार्ययोजना तथा स्वास्थ्यसम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै मन्त्रालय र सञ्चार क्षेत्रबीच नियमित समन्वय, सूचना आदानप्रदान तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत सहमति भएको थियो।
मन्त्रालयले स्वास्थ्य क्षेत्रका नीति, कार्यक्रम तथा सेवाबारे जनतालाई सही र समयमै जानकारी पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पत्रकारहरूसँग नियमित संवाद र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।