काठमाडौं । औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका समस्या, जीवनरक्षक औषधिको उपलब्धता र नियामकीय व्यवस्थालाई प्रभावकारी बनाउने विषयमा औषधि व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच मंगलबार छलफल भएको छ।
छलफलमा विशेषगरी क्यान्सरविरुद्ध प्रयोग हुने औषधि तथा इम्युनोसप्रेसन्ट (Immunosuppressant) औषधिको आपूर्ति र व्यवस्थापनका विषयमा विभिन्न माध्यमबाट प्राप्त गुनासो, त्यसको वास्तविक अवस्था तथा समाधानका उपायबारे विस्तृत समीक्षा गरिएको थियो।
बैठकमा औषधि आयात तथा आपूर्तिको अनुमति प्राप्त गरेका कम्पनीहरूले स्वीकृति लिएपछि पनि औषधि आपूर्ति नगरेको अवस्थामा अपनाउन सकिने कानुनी तथा प्रशासनिक विकल्पबारे समेत छलफल भएको बताइएको छ। यस सम्बन्धमा उपलब्ध सबै सम्भावित उपायहरूको समीक्षा गरिएको जनाइएको छ।
त्यसैगरी, जीवनरक्षक (Life Saving Drugs) औषधिको उपलब्धता सुनिश्चित गर्न मन्त्रालयले औषधि व्यवस्था विभागलाई आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
निर्देशनअनुसार जीवनरक्षक औषधि आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची, पछिल्ला तीन वर्षमा आयात भएको परिमाण, वार्षिक खपतको विवरण तथा यस्ता औषधि आपूर्तिका लागि अनुमति माग्दै पेस भएका निवेदनहरूको अभिलेख उपलब्ध गराउन भनिएको छ।
छलफलमा औषधि व्यवस्था विभागको सूचना प्रविधि प्रणालीलाई थप प्रभावकारी बनाउने विषय पनि उठाइएको थियो। विभागसँग सम्बन्धित सफ्टवेयरको सुधार, क्षमता विस्तार तथा वेबसाइटमा रहेका विवरण नियमित रूपमा अद्यावधिक गर्ने विषयमा समेत बैठक केन्द्रित भएको जनाइएको छ।
मन्त्रालयले औषधिको सहज आपूर्ति, पारदर्शी व्यवस्थापन र सर्वसाधारणको पहुँच सुनिश्चित गर्न आवश्यक सुधारका कदम अघि बढाइने जनाएको छ।