काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। सरकारद्वारा सुनमा लाग्ने भन्सार महसुल बढाइएपछि बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकै दिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा आएको तीव्र वृद्धिको मुख्य कारण सरकारले भन्सार महसुल दर दोब्बर बनाउनु रहेको व्यवसायीहरू बताउँछन्। यसअघि १० प्रतिशत रहेको महसुल बढाएर २० प्रतिशत पुर्याइएपछि आयात लागत बढेको र त्यसको असर बजार मूल्यमा परेको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ५ हजार ४० रुपैयाँ रहेको चाँदी आइतबार ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यद्यपि हालको मूल्य वृद्धि उल्लेखनीय भए पनि यस वर्षको सबैभन्दा उच्च स्तर भने अझै पुगेको छैन। २०८२ माघ १५ गते सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ तथा चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भई नयाँ कीर्तिमान कायम भएको थियो।
बजार विश्लेषकहरूका अनुसार कर तथा भन्सार नीतिमा आएको परिवर्तन, अन्तर्राष्ट्रिय बजारको अवस्था र आपूर्ति व्यवस्थाले आगामी दिनमा सुनचाँदीको मूल्यलाई थप प्रभावित गर्न सक्ने देखिन्छ।