काठमाडौं । सरकारले दुई पाङ्ग्रे सवारी साधनमार्फत सञ्चालन हुने राइड सेयरिङ सेवामा नयाँ व्यवस्था लागू गरेको छ। नयाँ आर्थिक ऐनमार्फत अब रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले राइड सेयरिङ सेवा सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको हो।
सरकारले पहिलोपटक दुई पाङ्ग्रे सवारी साधनलाई पनि भाडाका सवारी साधनका रूपमा दर्ता गर्ने कानुनी व्यवस्था ल्याएको छ। यातायात व्यवस्था ऐन, २०४९ अनुसार भाडाका सवारी साधनलाई कालो नम्बर प्लेट प्रदान गरिने भएकाले राइड सेयरिङमा प्रयोग हुने मोटरसाइकल तथा स्कुटर अब कालो नम्बर प्लेटमा दर्ता हुनुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार राइड सेयरिङका लागि दर्ता भएका दुई पाङ्ग्रे सवारी साधनले वार्षिक आयकर पनि तिर्नुपर्नेछ। हाल उक्त करको दर वार्षिक ३ हजार रुपैयाँ तोकिएको छ।
हालसम्म अधिकांश राइड सेयरिङ सेवा रातो नम्बर प्लेट भएका निजी मोटरसाइकल तथा स्कुटरमार्फत सञ्चालन हुँदै आएका थिए। तर नयाँ कानुनी व्यवस्थासँगै यस्ता सवारी साधनलाई व्यावसायिक प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
त्यस्तै, सरकारले राइड सेयरिङ सेवाबाट प्राप्त हुने प्रत्येक कारोबारमा ५ प्रतिशत कर लगाउने व्यवस्था पनि गरेको छ। यो कदमसँगै राइड सेयरिङ क्षेत्रलाई औपचारिक तथा करको दायराभित्र ल्याउने सरकारको प्रयास रहेको देखिएको छ।