२०८३ भाद्र २९ सोमबार

नेपालगन्जको एभरेष्ट प्लाई ढोका उद्योगमा भीषण आगलागी, पाँच करोड रुपैयाँभन्दा बढी क्षति

ई आर्थिक    शनिबार, जेष्ठ १६ २०८३
2.5K
Shares
नेपालगन्जको एभरेष्ट प्लाई ढोका उद्योगमा भीषण आगलागी, पाँच करोड रुपैयाँभन्दा बढी क्षति

करिब १५ घण्टापछि आगो नियन्त्रणमा, उद्योगका मेसिन, कच्चा पदार्थ र तयारी ढोका जलेर नष्ट

उद्योगका सञ्चालक प्रकाश रानाका अनुसार शुक्रबार दिउँसो सुरु भएको आगलागी नियन्त्रणका लागि निरन्तर प्रयास गरिए पनि शनिबार बिहान मात्रै पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सकिएको थियो। आगलागीका कारण उद्योगमा रहेका सम्पूर्ण मेसिन, कच्चा पदार्थ तथा तयारी अवस्थामा रहेका ढोकाहरू जलेर नष्ट भएका छन्।

सञ्चालक रानाले उद्योगमा रहेको सम्पूर्ण उत्पादन सामग्री र उपकरणहरू ध्वस्त हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। आगलागीको यकिन कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर घटना भएको हुनसक्ने उनको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार दिउँसो करिब ३ बजेदेखि सुरु भएको आगलागीले तीव्र रूप लिएपछि नियन्त्रणमा लिन निकै कठिन भएको थियो। आगो फैलिने जोखिम उच्च भएपछि आसपासका बस्तीसमेत सतर्क बनाइएको थियो।

प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रतितसिंह राठोरका अनुसार बाँके र बर्दियाका विभिन्न स्थानीय तहबाट ल्याइएका करिब एक दर्जन दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको संयुक्त प्रयासपछि आगलागी नियन्त्रणमा आएको हो।

उनले आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको बताए। उद्योगका तर्फबाट औपचारिक निवेदन प्राप्त भएपछि आवश्यक मुचुल्का प्रक्रिया अगाडि बढाइने पनि उनले जानकारी दिए।

प्रवक्ता राठोरका अनुसार काठजन्य सामग्री उत्पादन गर्ने उद्योग भएकाले आगो तीव्र रूपमा फैलिएको र नियन्त्रण गर्न चुनौतीपूर्ण भएको थियो। आगलागीले आसपासका घरहरूमा समेत जोखिम उत्पन्न गरेपछि केही स्थानीय बासिन्दालाई अस्थायी रूपमा घर खाली गराउनुपरेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij