२०८३ साउन १० आइतबार

पुवाखोला जलविद्युत्को पाइप चुहिँदा मेची राजमार्ग संकटमा, सडक भासिने समस्या बढ्दै

ई आर्थिक    बुधबार, जेष्ठ १३ २०८३
1K
Shares
पुवाखोला जलविद्युत्को पाइप चुहिँदा मेची राजमार्ग संकटमा, सडक भासिने समस्या बढ्दै

इलाम । पुवाखोला जलविद्युत् आयोजनाका लागि जडान गरिएको पेनस्टक पाइपबाट पानी चुहिँदा मेची राजमार्गअन्तर्गत इलामको माईखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्डमा गम्भीर क्षति पुगेको पाइएको छ। वर्षौंदेखि जमिन भासिने र सडक बग्ने समस्याको मुख्य कारण पाइप चुहावट हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको नेतृत्वमा सडक डिभिजन कार्यालय इलामका प्रमुख तथा प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्दा पेनस्टक पाइपको करिब डेढ किलोमिटर क्षेत्र परीक्षण गरिएको थियो। निरीक्षणका क्रममा करिब दुई सय मिटर क्षेत्रमा पाइप धेरै चर्किएको भेटिएको सडक डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार २०७२ सालको भूकम्पपछि समस्या अझ गम्भीर बनेको हो। स्थानीयवासीको लगातार गुनासोपछि पाइपभित्रै प्रवेश गरेर निरीक्षण गरिएको थियो। सुरुङको अवस्था कमजोर देखिएपछि हेड ट्याङ्कभित्र थुप्रिएको माटो हटाएर थप अध्ययन थालिएको छ। त्यहाँ पनि चर्किएको आशंका गरिएको छ।

‘हाइड्रोको पानी चुहावट मुख्य कारण हुनसक्छ’

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार लामो समयसम्म विभिन्न अध्ययन हुँदा पनि समस्या समाधान हुन सकेको थिएन। स्थानीय तहबाट आएको गुनासोका आधारमा जलविद्युत् आयोजनाको संरचना निरीक्षण गर्दा नयाँ तथ्य फेला परेको उहाँले बताउनुभयो।

“जनस्तरबाट धेरै गुनासो आएको थियो। त्यही आधारमा निरीक्षण गर्‍यौँ। अहिले समस्या समाधानतर्फ संकेत देखिएको छ,” ढकालले भन्नुभयो।

यसअघि भूगर्भविद् टोलीसहित विभिन्न प्राविधिक अध्ययन भए पनि जलविद्युत्का लागि लगिएको पानी चुहावटलाई समस्याको कारणका रूपमा पहिचान गरिएको थिएन।

आयोजनालाई तत्काल अध्ययन र पुनर्निर्माण गर्न निर्देशन

निरीक्षणपछि पुवाखोला जलविद्युत् आयोजनालाई तत्काल विज्ञ टोली झिकाएर अध्ययन तथा पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिइएको सडक डिभिजन कार्यालयले जनाएको छ।

गत असोज १८ गतेको भारी वर्षापछि पहिरो जाँदा यो सडकखण्ड १२ दिनसम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो। अहिले पनि माईखोला क्षेत्रमा पुनर्निर्माणको काम जारी छ।

सडक डिभिजन प्रमुख भट्टराईका अनुसार पाइपमार्फत भित्रको पानी बाहिर निकाल्ने र खोलाबाट करिब १० मिटर अग्लो ढलौट पर्खाल निर्माण गरेर सडक सुरक्षित बनाउने प्रयास भइरहेको छ। तर लगातार वर्षा, खोलामा आउने बाढी र माथिबाट खस्ने पहिरोका कारण काममा कठिनाइ भइरहेको उहाँले बताउनुभयो।

वैकल्पिक सडक अझै भरपर्दो छैन

मुख्य सडक पूर्ण रूपमा सञ्चालनमा नआउँदा र वैकल्पिक मार्ग पनि प्रभावकारी नहुँदा इलामसहित पाँचथर र ताप्लेजुङसम्म आवतजावत तथा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित हुँदै आएको छ।

जिप तथा ट्याक्सी यातायात प्रालिका अध्यक्ष गृष्म सुब्बाका अनुसार वर्षा लाग्नासाथ मेची पहाडका बासिन्दामा पुनः सडक अवरुद्ध हुने चिन्ता सुरु हुन्छ।

“पहिरोमाथिको अस्थायी ट्याङ्की कति भरपर्दो हुन्छ र ? वैकल्पिक सडक पनि कमजोर छन्। यही अवस्था रहे आउँदो वर्षामा मेची पहाड झन् संकटमा पर्न सक्छ,” उहाँले भन्नुभयो।

हाल तिल्केनी–सिमल गोलाइ सडकखण्डमा ठूला सवारी सञ्चालन हुन सकेका छैनन् भने केचना–कञ्चनजङ्घा सडक आयोजनाको काम पनि अत्यन्त सुस्त गतिमा भइरहेको छ।

सडक डिभिजन कार्यालयका अनुसार जोगमाई खोला, माईखोला बेलासे र पुवाखोलामा बेलिब्रिज जडानका लागि जग निर्माणको काम भइरहेको छ। भारतबाट प्राविधिक टोली नेपालतर्फ आइरहेको र केही दिनमै बेलिब्रिज जडान सुरु हुने जनाइएको छ।

तर केचना–कञ्चनजङ्घा सडकको भन्ज्याङतर्फको काममा ठेकेदारको ढिलासुस्तीका कारण वर्षाअघि काम सम्पन्न हुनेमा आशंका बढेको छ। समयमै काम नसके ठेक्का तोड्ने अवस्था आउन सक्ने सडक डिभिजन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij