एमाले सचिवालयमा चर्कियो विवाद, चार उपाध्यक्षद्वारा ओलीसँग राजीनामा माग
ई आर्थिक
शुक्रबार, जेष्ठ ८ २०८३
1.2K
Shares
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले (एमाले) सचिवालय बैठकमा आज तीव्र विवाद भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको विषय उठेपछि बैठक तनावपूर्ण बनेको हो।
आजको बैठकमा पाँच जना उपाध्यक्षहरूले धारणा राखेका थिए। उपाध्यक्ष रामबहादुर थापा बादल बाहेक अन्य चार उपाध्यक्षले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्।
उपाध्यक्षहरूबिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले एमाले वर्तमान कमजोर अवस्थामा पुगेको जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने बताएका छन् । उनीहरूले पार्टीलाई पुनर्जीवित गर्न नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका छन्।
तर उपाध्यक्ष बादल भने ओलीको पक्षमा उभिएका छन् । उनले वर्तमान अवस्थामा नेतृत्व परिवर्तनभन्दा पार्टी एकतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
बैठकमा अध्यक्ष ओलीले भने राजीनामा नदिने स्पष्ट अडान राखेका छन् । उनले केही नेताहरूले विरोधी शक्तिसँग मिलेर पार्टीलाई संकटमा पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।
तीव्र विवादपछि बैठक अहिलेका लागि स्थगित गरिएको छ। एमालेभित्र देखिएको यो आन्तरिक विवादले पार्टीको एकता, संगठनात्मक भविष्य र आगामी राजनीतिक रणनीतिमा गम्भीर असर पार्न सक्ने विश्लेषण गरिएको छ।