२०८३ साउन १३ बुधबार

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचन शुक्रबार, कोषाध्यक्ष पदमा मनिषलाल प्रधानको दाबी बलियो

ई आर्थिक    बिहिबार, जेष्ठ ७ २०८३
3.3K
Shares
एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचन शुक्रबार, कोषाध्यक्ष पदमा मनिषलाल प्रधानको दाबी बलियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदको निर्वाचन शुक्रबार हुने भएको छ।

कार्यकारिणी समितिको निर्णयविरुद्ध उच्च अदालतमा दायर मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने फैसला आएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बाटो खुलेको महासंघले जनाएको छ। महासंघका अनुसार पूर्वनिर्धारित कार्यतालिका अनुसार कार्यकारिणी समिति बैठक र निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ।

वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकाल, रामचन्द्र संघई, सुरकृष्ण श्रेष्ठ र भरतराज आचार्यको नाम चर्चामा रहेको छ।

त्यस्तै, कोषाध्यक्ष पदमा मनिषलाल प्रधानको दाबी बलियो देखिएको छ। महासंघको नयाँ कार्यकारिणीमा अञ्जन श्रेष्ठ समूह निकट उम्मेदवारहरूले बहुमत हासिल गरेपछि प्रधानको दाबी स्वाभाविक बनेको कोर टिमका पदाधिकारीहरूको भनाइ छ। अर्को पक्षबाट उम्मेदवार नउठ्ने संकेतका कारण उनको जित लगभग सुनिश्चित मानिएको छ।

व्यवसायिक परिवारबाट चेम्बर आन्दोलनसम्म

मनिषलाल प्रधान उद्योगी–व्यवसायी परिवारबाट आएका व्यक्ति हुन्। उनका पिता महेशलाल प्रधान नेपाल उद्योग वाणिज्य महासंघका दुई पटक अध्यक्ष भइसकेका प्रभावशाली व्यवसायिक नेता हुन्।

व्यवसायिक वृत्तमा महेशलाल प्रधानको नेतृत्वलाई अहिले पनि उदाहरणीय रूपमा सम्झिने गरिन्छ। पञ्चायतकालमै सरकारी नीति निर्माण तहमा समेत प्रभाव पार्ने क्षमता राख्ने नेताका रूपमा उनी परिचित थिए।

ललितपुर औद्योगिक क्षेत्रमा प्रधान परिवारको ५२ वर्ष पुरानो कपडा उद्योग सञ्चालनमा छ। यही वातावरणमा हुर्किएका मनिषलाल प्रधानले सानैदेखि निजी क्षेत्र, उद्योग र चेम्बर आन्दोलनको अभ्यास नजिकबाट देखेका हुन्।

महासंघमा लामो अनुभव

मनिषलाल प्रधान २०५५ सालदेखि नै चेम्बर आन्दोलनमा सक्रिय छन्। उनी ललितपुर उद्योग वाणिज्य महासंघको प्रथम उपाध्यक्ष भइसकेका छन् भने महासंघमा वस्तुगत संघबाट एक पटक र जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट दुई पटक निर्वाचित भएका छन्।

त्यसैगरी, उनले महासंघको निर्यात प्रवर्द्धन समितिको सभापतिका रूपमा समेत काम गरिसकेका छन्।

हिरा तथा जवाहरात व्यवसायमा संलग्न प्रधान जेम्स एण्ड ज्वेलरी संघका पूर्वअध्यक्ष पनि हुन्। व्यवसायिक अनुभव र संस्थागत नेतृत्वको संयोजनका कारण उनलाई सक्षम युवा उद्यमीका रूपमा हेरिने गरिन्छ।

नयाँ नेतृत्वले महासंघमा सुधार र रूपान्तरणको अपेक्षा गरिरहेका बेला अञ्जन श्रेष्ठ समूहको रणनीतिक टिममा लामो समयदेखि सक्रिय रहेका मनिषलाल प्रधान कोषाध्यक्ष पदका स्वाभाविक दाबेदारका रूपमा उभिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij