२०८३ भाद्र २९ सोमबार

रास्वपाको महाधिवेशन नजिकिँदै, सहमतिमै नेतृत्व चयन गर्ने प्रयास

ई आर्थिक    बिहिबार, जेष्ठ ७ २०८३
2.1K
Shares
रास्वपाको महाधिवेशन नजिकिँदै, सहमतिमै नेतृत्व चयन गर्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व चयन, समायोजन समूहको प्रतिनिधित्व र विधान संशोधनलाई लिएर राजनीतिक गतिविधि तीव्र बनेको छ।

पार्टीमा विभिन्न समूहबाट समाहित भएका नेताहरूले महाधिवेशन सहमतिमै सम्पन्न गर्नुपर्ने धारणा अघि सारेका छन्। वालेन्द्र शाह नेतृत्वको देश विकास पार्टी, विवेकशील साझा पार्टी, दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, थरुहट–थारुवान आन्दोलनसँग आबद्ध समूह तथा जेनजी अभियन्ताहरू निर्वाचनअघि रास्वपामा एकीकृत भएका थिए।

ती समूहले संयुक्त रूपमा प्रतिनिधित्व पाएको र संसद्मा समेत सहभागिता रहेकाले महाधिवेशनमा पनि समान प्रतिनिधित्व सुनिश्चित गर्दै सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भइरहेको बताइएको छ।

बुधबार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली ले पार्टी सभापतिमा रवि लामिछाने को विकल्प नभएको बताउनुभयो।

उहाँले रास्वपाभित्र विभिन्न राजनीतिक शक्ति समाहित भए पनि सबैको लक्ष्य राष्ट्रनिर्माण भएकाले गुट–उपगुटको सम्भावना नरहेको दाबी गर्दै आगामी महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्ने प्रयास हुने बताउनुभयो।

रास्वपाले विधान संशोधन प्रक्रिया पनि अघि बढाएको छ। सहमहामन्त्री विपिन आचार्य नेतृत्वको कार्यदलले प्रदेशदेखि वडा तहसम्मबाट सुझाव सङ्कलन गरिरहेको जनाएको छ। प्राप्त सुझावका आधारमा संशोधन प्रस्ताव तयार गरी जेठ १० गतेभित्र पेस गरिने तयारी छ।

यसैबीच पार्टीको निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन मोडालिटी तयार पारिरहेको छ। केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।

महाधिवेशन तयारीका लागि रास्वपाले देशभरका सांसद, पदाधिकारी तथा विभागीय प्रमुखलाई वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मेवारी दिएको छ। पार्टीले पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरिसकेको छ।

महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व आकाङ्क्षीहरूको सक्रियता बढे पनि शीर्ष नेतृत्व भने सहमतिमै नेतृत्व चयन गर्ने पक्षमा देखिएको छ। पार्टीभित्र सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा वालेन्द्र शाह निर्विकल्पजस्तै देखिएको चर्चा छ।

उपसभापतिमा एक महिलासहित तीनमध्ये दुई नयाँ अनुहार आउने सम्भावना रहेको बताइन्छ। यद्यपि उपसभापति र महामन्त्री पदमा विभिन्न नेताबीच आकाङ्क्षा बढ्दै गएको छ।

रास्वपाको विधानअनुसार केन्द्रीय समिति १२९ सदस्यीय हुनेछ। सभापतिसहित ९९ जना केन्द्रीय सदस्य महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुनेछन् भने २२ जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। सातै प्रदेशका सभापति पदेन सदस्य रहने तथा कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ।

विधानअनुसार सभापतिमा उम्मेदवारी दिन कम्तीमा एक पटक केन्द्रीय सदस्य भइसकेको हुनुपर्नेछ भने निर्वाचित हुन कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ। महाधिवेशन दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ भने दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यबाट पदाधिकारी चयन गरिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij