२०८३ साउन १० आइतबार

इरानलाई ट्रम्पको चेतावनी : ‘समय सकिँदैछ, सम्झौता नभए कडा प्रहार हुन्छ’

ई आर्थिक    मंगलबार, जेष्ठ ५ २०८३
1.1K
Shares
इरानलाई ट्रम्पको चेतावनी : ‘समय सकिँदैछ, सम्झौता नभए कडा प्रहार हुन्छ’

वासिङ्टन । डोनाल्ड ट्रम्पले इरानलाई समय घर्किँदै गएको चेतावनी दिँदै सम्झौताका लागि चाँडै सकारात्मक प्रस्ताव नल्याए अझ कडा सैन्य कारबाही हुन सक्ने बताएका छन्।

अमेरिकी अनलाइन मिडिया एक्सियससँगको टेलिफोन कुराकानीमा ट्रम्पले इरानमाथि थप दबाब दिने संकेत गरेका हुन्।

“समय घर्किँदै गइरहेको छ। उनीहरूले चाँडै अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूसँग केही पनि बाँकी रहने छैन,” ट्रम्पले भने।

यद्यपि उनले इरानसँगको सम्भावित सम्झौताका लागि कुनै निश्चित समयसीमा भने तोकेनन्।

“हामी सम्झौता गर्न चाहन्छौँ। तर इरान अहिले हामीले चाहेको बिन्दुमा आइपुगेको छैन। उनीहरू त्यहाँ आउनैपर्छ, अन्यथा उनीहरूमाथि नराम्रो प्रहार हुनेछ,” ट्रम्पको भनाइ उद्धृत गरिएको छ।

इरानले लचकता नदेखाए सैन्य विकल्पसमेत प्रयोग गर्न सकिने संकेत ट्रम्पले दिएका छन्। यसैबीच, इरानमाथि सम्भावित आक्रमणको विषय पुनः अन्तर्राष्ट्रिय बहसको केन्द्रमा आएको छ।

ट्रम्पले आइतबार बेन्जामिन नेतन्याहुसँग इरानको पछिल्लो अवस्थाबारे छलफल गरेका थिए। अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले मंगलबार आफ्नो राष्ट्रिय सुरक्षा टोलीको उच्चस्तरीय बैठक बोलाउने तयारी गरेका छन्।

यता, इरानले युद्ध सुरु भएपछि रणनीतिक रूपमा महत्त्वपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ। यो जलमार्गबाट विश्वको करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत ग्यास आपूर्ति हुने गरेको छ।

हर्मुज बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको आपूर्ति प्रभावित भएको छ भने तेलको मूल्य तीव्र रूपमा बढ्न थालेको छ। यसको असर विश्व अर्थतन्त्रमा समेत देखिन थालेको विश्लेषण गरिएको छ।

सुरुमा इरानले आफ्ना तेलवाहक जहाजलाई मात्रै सञ्चालन गर्न दिएको थियो भने अन्य देशका जहाजलाई अवरोध गर्दै आएको थियो। केही जहाजलाई भने महँगो शुल्क लिएर आवतजावतको अनुमति दिइएको बताइएको छ।

तर पाकिस्तानमा भएको वार्ता असफल भएपछि अप्रिल १३ देखि ट्रम्प प्रशासनले पनि हर्मुज क्षेत्रमा इरानमाथि नाकाबन्दी सुरु गरेको जनाइएको छ। त्यसपछि उक्त समुद्री मार्ग लगभग ठप्पजस्तै बनेको छ।

विश्लेषकहरूका अनुसार हाल आपूर्ति भइरहेका अधिकांश तेल युद्धअघि नै हर्मुज पार गरिसकेका जहाजबाट आएको हो। यदि अहिलेको अवस्था लामो समयसम्म जारी रहे विश्वव्यापी ऊर्जा संकट अझ गहिरिने र तेलको मूल्य थप आकासिने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij