२०८३ साउन ११ सोमबार

राप्रपामा महाधिवेशन केन्द्रित राजनीतिक सक्रियता तीव्र, ‘प्रखर राजावादी नेतृत्व’ खोजीमा नेताहरू

ई आर्थिक    सोमबार, जेष्ठ ४ २०८३
1.7K
Shares
राप्रपामा महाधिवेशन केन्द्रित राजनीतिक सक्रियता तीव्र, ‘प्रखर राजावादी नेतृत्व’ खोजीमा नेताहरू

काठमाडौं । आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र राजनीतिक गतिविधि तीव्र हुन थालेको छ। सोमबार राजधानीमा आयोजित नेताहरूको भेलाले पार्टीलाई एकताबद्ध बनाउँदै राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दालाई स्पष्ट रूपमा अघि बढाउन सक्ने नेतृत्वलाई समर्थन गर्ने निष्कर्ष निकालेको छ।

नेता जगत गौचन को संयोजकत्वमा सम्पन्न भेलामा सहभागी नेताहरूले महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीको वैचारिक दिशा तय गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्। उनीहरूले राजतन्त्र, हिन्दुत्व र राष्ट्रवादको मुद्दामा दृढ अडान राख्ने नेतृत्व आवश्यक रहेकोमा जोड दिएका थिए।

भेलापछि गौचनले पार्टीलाई विभाजनतर्फ नभई एकढिक्का बनाउँदै महाधिवेशनतर्फ लैजानुपर्ने आवश्यकता औँल्याए। उनले हाल कुनै व्यक्तिको नाम सार्वजनिक रूपमा अघि नसारिए पनि “प्रखर राजावादी र राष्ट्रवादी छवि भएको नेतृत्व” निर्माणमा सहमति बनेको जानकारी दिए।

भेलामा दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्य तथा नेताहरूको सहभागिता रहेको जनाइएको छ। कार्यक्रममा भरत रायमाझी, प्रकाशजङ्ग कार्की, प्रल्हाद शाह, मीनबहादुर शाही, गोपीचन्द्र शर्मा, केदार कोइरालापूजा राणा लगायत सहभागी थिए।

सहभागी नेताहरूले पार्टीभित्र युवापुस्ताका सक्रिय, स्पष्ट विचार भएका तथा राजावादी धारलाई मजबुत रूपमा अघि बढाउन सक्ने नेताहरूलाई नेतृत्वको अग्रपङ्क्तिमा ल्याउनुपर्ने धारणा राखेका थिए। उनीहरूका अनुसार अबको नेतृत्व केवल पदकेन्द्रित नभई पार्टीको मूल सिद्धान्त र जनभावनालाई गन्तव्यसम्म पुर्‍याउन सक्षम हुनुपर्छ।

राप्रपाभित्र महाधिवेशनको मिति शीघ्र घोषणा गर्न दबाब बढिरहेका बेला पार्टीले भने अझै औपचारिक मिति तय गर्न सकेको छैन। यसअघि जेठ १ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका तयार पार्न समिति गठन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij