चितवन । भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा विद्युत्का पोलमा जथाभावी राखिएका अव्यवस्थित तार हटाउने अभियान सुरु गरिएको छ। महानगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा सेवा प्रदायक संस्थाका प्रतिनिधिबीच छलफल भएपछि तार व्यवस्थापनको काम अघि बढाइएको हो।
भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोट का अनुसार इन्टरनेट सेवा प्रदायक संस्थाहरूले आफ्ना तार आफैं व्यवस्थापन गरिरहेका छन् भने आवश्यक सहजीकरण नगर प्रहरीले गरिरहेको छ।
उनले महानगरको अगुवाइमा अव्यवस्थित तार हटाएर विद्युत् पोललाई सुरक्षित, सुन्दर र व्यवस्थित बनाउने काम भइरहेको बताए।
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी ले स्थानीय प्रशासनसँगको बैठकपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पोलमा रहेका अव्यवस्थित तार तत्काल हटाउन निर्देशन दिइएको जानकारी दिए।
उनका अनुसार अव्यवस्थित तारका कारण सहरी क्षेत्र असुरक्षित र कुरूप देखिन थालेपछि व्यवस्थापन अभियान सुरु गरिएको हो। उनले सेवा प्रदायकहरूले आफ्ना तार समयमै व्यवस्थापन नगरे नगर प्रहरीले हटाउने चेतावनीसमेत दिएका छन्।
महानगरपालिकाले वैशाख २७ गतेदेखि निरन्तर रूपमा पोल व्यवस्थापन तथा तार हटाउने काम भइरहेको जनाएको छ।