काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालि द्वारा उत्पादन गरिएको ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव स्वास्थ्यका लागि अनुपयुक्त ठहर गर्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ।
विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा आइसक्रिममा टोटल ब्याक्टेरिया, कोलिफर्म तथा इन्टेरोब्याक्टेरिएसी जस्ता हानिकारक जीवाणुको मात्रा निर्धारित मापदण्डभन्दा बढी भेटिएको हो। यस्ता जीवाणुले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भन्दै विभागले बिक्री वितरणमा रोक लगाएको जनाएको छ।
पोखरा औद्योगिक क्षेत्रमा उत्पादित ब्याच नम्बर CO2 रहेको १ हजार मिलिलिटरको आइसक्रिम तत्काल बजारबाट हटाउन भनिएको छ। उत्पादन मिति १९ साउन २०८२ उल्लेख भएको उक्त उत्पादन १२ महिनासम्म उपभोग गर्न मिल्ने अवधि राखिएको थियो।
खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुनी प्रावधानअनुसार विभागले सम्बन्धित कम्पनीलाई उक्त ब्याचका आइसक्रिम बिक्री नगर्न तथा बजारमा रहेका सबै उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ। साथै, उपभोक्तालाई पनि उक्त ब्याचको आइसक्रिम प्रयोग नगर्न आग्रह गरिएको छ।