२०८३ भाद्र २८ आइतबार

नेपाल बीमा प्राधिकरणले मनायो ५८औं वार्षिकोत्सव: बीमा क्षेत्रको विकास, नीतिगत सुधार र सुशासन प्रवर्द्धनमा जोड

ई आर्थिक    शुक्रबार, जेष्ठ १ २०८३
1.6K
Shares
नेपाल बीमा प्राधिकरणले मनायो ५८औं वार्षिकोत्सव:  बीमा क्षेत्रको विकास, नीतिगत सुधार र सुशासन प्रवर्द्धनमा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो ५८औं वार्षिकोत्सव कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ। कार्यक्रममा बीमा क्षेत्रको विकास, नीतिगत सुधार, सुशासन प्रवर्द्धन तथा डिजिटल रूपान्तरणलाई आगामी प्राथमिकताका रूपमा अघि बढाइने बताइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रकला पौडेलले बीमा क्षेत्रको पहुँच विस्तार र विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताइन्। उनले बीमितको हित संरक्षण, समयमै दाबी भुक्तानी तथा गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर प्राधिकरण अघि बढ्ने उल्लेख गरिन्।

उनले आगामी दिनमा नीतिगत कमजोरी सुधार गर्दै बीमक संस्थाहरूको संस्थागत सुदृढीकरण, जोखिममा आधारित निरीक्षण प्रणाली, सुशासन प्रवर्द्धन तथा डिजिटल रूपान्तरणलाई दिगो रूपमा कार्यान्वयन गरिने जानकारी दिइन्।

बीमित, बीमक तथा सम्बद्ध संस्थाहरूसँगको सहकार्यले बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै सुझावका आधारमा प्राधिकरण नयाँ ढङ्गले अघि बढ्ने उनले बताइन्।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सुशील देव सुवेदीले बीमा क्षेत्रलाई समावेशी, डिजिटल र जोखिम सचेत बनाउँदै आर्थिक विकासको सहयात्रीका रूपमा अघि बढाउन प्राधिकरण प्रतिबद्ध रहेको बताए। उनले नियमन तथा निरीक्षण प्रणालीलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्दै आन्तरिक सुशासन, संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिमा प्राधिकरणले यस वर्ष उल्लेखनीय प्रगति गरेको बताए।

वार्षिकोत्सव कार्यक्रममा वीरेन्द्र बहादुर बैदवार क्षेत्री, प्रकाश विक्रम खत्री, चिरायु भण्डारी, ऋषि कोइराला, ओम बहादुर के.सी. तथा नरेश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यस अवसरमा प्राधिकरणमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा अध्यक्ष पौडेल तथा सञ्चालक समितिका सदस्य मान बहादुर अर्याल ले सम्मानपत्र प्रदान गरेका थिए।

त्यसैगरी, वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी कर्मचारीहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, विभिन्न बीमा सम्बन्धी संघसंस्थाका पदाधिकारी, प्राधिकरणका कर्मचारी तथा पूर्वकर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन श्रद्धा श्रेष्ठले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij