२०८३ साउन १० आइतबार

महाभारत गाउँपालिकामा ७१ परिवारलाई ६ हजार ८०० कफीका बिरुवा वितरण

ई आर्थिक    आइतबार, जेष्ठ ३ २०८३
1.3K
Shares
महाभारत गाउँपालिकामा ७१ परिवारलाई ६ हजार ८०० कफीका बिरुवा वितरण

काभ्रेपलाञ्चोक : महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीका बिरुवा वितरण गरिएको छ। गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ भन्ने नारालाई निरन्तरता दिँदै कफीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरेको हो।

गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाले गरेको फिल्ड अनुगमनका आधारमा ६ हजार ८०० वटा खाडल खनिएको पुष्टि भएपछि सोही संख्याअनुसार बिरुवा वितरण गरिएको जनाएको छ। वडाभित्र करिब १३ हजार बिरुवाको माग भए पनि पर्याप्त उपलब्धता नभएकाले मागअनुसार वितरण गर्न नसकिएको वडा अध्यक्ष रमेश लुङ्गेली ले बताउनुभयो।

काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी दुर्गम क्षेत्रमा रहेको महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिक र व्यवस्थित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले किसानलाई प्रत्येक वर्ष कफीका बिरुवासँगै आधुनिक कृषि सामग्रीसमेत वितरण गर्दै आएको जनाएको छ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा का अनुसार किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादन वृद्धि र आत्मनिर्भरता हासिल गराउने उद्देश्यले कफीखेतीलाई प्राथमिकतामा राखिएको हो।

“प्रत्येक वर्ष आधुनिक कृषि सामग्री प्रयोगमार्फत कफी उत्पादन सहज हुने र उत्पादन वृद्धिमा किसानलाई उत्प्रेरणा मिल्ने अपेक्षा गरेका छौँ,” अध्यक्ष जिम्बाले भन्नुभयो।

गाउँपालिकाका अनुसार हाल एक हजार ४३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ भने करिब एक हजार २०० किसान व्यावसायिक रूपमा कफी उत्पादनमा संलग्न छन्। कफीलाई गाउँपालिकाको ‘पकेट क्षेत्र’का रूपमा विकास गर्दै हरेक वर्ष नीति तथा कार्यक्रममा प्राथमिकता दिइँदै आएको छ।

स्थानीय किसान परम्परागत मकै, कोदो लगायतका खाद्यान्न बाली छाडेर कफीखेतीतर्फ आकर्षित हुन थालेका छन्। वडा नं. ५ का किसान सुवास जिम्बा का अनुसार यहाँका किसानले कफीखेतीबाट वार्षिक पाँच लाखदेखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

गाउँपालिकाले उत्पादित कफीमध्ये प्रतिकिलो रु २० अनुदान पनि उपलब्ध गराउँदै आएको छ। १२ वर्षदेखि कफीखेती गर्दै आएका वडा नं. ६ का किसान बाबुलाल घलान ले गाउँपालिकाको अनुदानले किसानलाई थप उत्साहित बनाएको बताउनुभयो।

डाँडापारिमा पल्पिङ सेन्टर स्थापना भएपछि किसानले प्रशोधनअघि बोक्रा हटाइएको कफी प्रतिकिलो ५ सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री गर्न थालेका छन्। स्थानीयका अनुसार एकपटक रोपिएको कफीको बिरुवाबाट ५० वर्षसम्म उत्पादन लिन सकिने भएकाले यो खेती दीर्घकालीन आम्दानीको स्रोत बन्दै गएको छ।

एक रोपनी जमिनबाट वार्षिक २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँदै अध्यक्ष जिम्बाले महाभारत गाउँपालिकाको आर्थिक समृद्धिको आधार कफी बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij