ताप्लेजुङ : पाथीभरा केवलकार निर्माणको विरोध गर्दै आएको ‘नो केवलकार’ समूहले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जनचेतनामूलक अभियानदेखि विरोध प्रदर्शनसम्मका चरणबद्ध कार्यक्रम सार्वजनिक गरिएको हो।
मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिका तर्फबाट खगेन्द्र फेम्बु लिम्बू ले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्नुभयो।
घोषित कार्यक्रमअनुसार जेठ ५ गते राजनीतिक दलहरूसँग छलफल तथा अन्तरक्रिया, जेठ ७ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ ९ गते विभिन्न संघसंस्थासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी जेठ ११ गते कालो झन्डासहित कोणसभा तथा प्रदर्शन, जेठ १६ गते फुङ्लिङ बजारमा खबरदारी तथा विरोध प्रदर्शन र जेठ १७ गते केवलकार निर्माण भइरहेको मुक्कुम्लुङ क्षेत्रमा वृक्षरोपणसहित विरोध प्रदर्शन गरिने जनाइएको छ।
संघर्ष समितिले सरकारले प्रशासनलाई निर्माण कार्य रोक्न निर्देशन दिए पनि त्यसको बेवास्ता गर्दै निर्माण कार्य जारी राखिएको आरोप लगाएको छ।
समितिले केवलकार परियोजनामा वन फडानी, जग्गा किनबेचमा ठगी, भ्रष्टाचार तथा अनियमितता भएको दाबी गर्दै निर्माण गतिविधि तत्काल बन्द गरी सत्यतथ्य छानबिन गर्न माग गर्दै आएको छ।