२०८३ साउन १० आइतबार

चिनी अभाव नहुने सरकारको दाबी, आठ महिनालाई पुग्ने मौज्दात

ई आर्थिक    शनिबार, जेष्ठ २ २०८३
874
Shares
चिनी अभाव नहुने सरकारको दाबी, आठ महिनालाई पुग्ने मौज्दात

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चिनी अभाव हुने सम्भावनाबारे चासो बढिरहेका बेला सरकारले बजारमा पर्याप्त मौज्दात रहेको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आम उपभोक्तालाई चिनीलगायत दैनिक उपभोग्य वस्तुको अनावश्यक सञ्चिति नगर्न आग्रह गर्दै बजारमा सहज आपूर्ति र मूल्य स्थिरता कायम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्था परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएपछि मन्त्रालयले त्यसप्रति गम्भीर ध्यान दिएको छ । उपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धतालाई प्राथमिकतामा राखी आवश्यक पहल भइरहेको उनले बताए ।

हाल सञ्चालनमा रहेका स्वदेशी चिनी उद्योगबाट उत्पादन भई मौज्दातमा रहेको चिनी तथा हालसम्म आयात गरिएको परिमाणलाई हेर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलगायत निकायसँग करिब आठ महिनासम्मको माग धान्न सक्ने मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नियमित बजार अनुगमन, आपूर्ति व्यवस्थापन तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाइने जनाएको छ । कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अनुचित मौज्दात राख्ने तथा अस्वाभाविक मूल्यवृद्धि गर्नेलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको प्रवक्ता सुवेदीले बताए ।

यसैबीच, सरकारले चिनीमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने तयारी पनि अघि बढाएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा उन्नत जातका उखु खेती विस्तार, आधुनिक प्रविधिको प्रयोग तथा किसानलाई सहजीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij