२०८३ साउन ९ शनिबार

जेठ ४ देखि समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता सुरु, पहिलो चरणमा १० हजारसम्मका बचतकर्ता लाभान्वित

ई आर्थिक    शनिबार, जेष्ठ २ २०८३
1.6K
Shares
जेठ ४ देखि समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता सुरु, पहिलो चरणमा १० हजारसम्मका बचतकर्ता लाभान्वित

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठ ४ गतेदेखि बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने भएको छ। समितिले पहिलो चरणमा १० हजार रुपैयाँ वा सोभन्दा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिने जनाएको छ।

समितिका सदस्यसचिव रविन ढकालका अनुसार धेरै बचतकर्ता प्रभावित भएका शिवशिखर सहकारी र कान्तिपुर सहकारीबाट रकम फिर्ता प्रक्रिया सुरु गरिनेछ। त्यसपछि चरणबद्ध रूपमा रकमको सीमा निर्धारण गर्दै अन्य बचतकर्तालाई पनि राहत उपलब्ध गराइने योजना रहेको उनले बताए।

समितिले बचतकर्ताको मागदाबीका आधारमा आवश्यक विवरण संकलन कार्य सुरु भइसकेको जानकारी दिएको छ। आवश्यक कागजातसहित समयमै सम्पर्क गर्न समितिले बचतकर्तालाई आग्रह गरेको छ। ‘सबै बचतकर्ताले केही न केही रकम फिर्ता पाउने’ नीति अनुसार रकम वितरण गरिने समितिको भनाइ छ।

सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन समितिले नयाँ समयतालिका समेत लागू गरेको छ। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बचत फिर्ता तथा सरकारी एवं सार्वजनिक निकायसँग सम्बन्धित काम गरिनेछ। स्टेटमेन्ट उपलब्ध गराउने, गुनासो सुनुवाइ र निवेदन दर्ता जस्ता सेवा भने दिउँसो ३ बजेपछि मात्र सञ्चालन हुने जनाइएको छ।

बचतकर्ताको भिड व्यवस्थापन र सेवा प्रवाहलाई व्यवस्थित बनाउन समयतालिका निर्धारण गरिएको समितिले जनाएको छ।

यससँगै समितिले कर्जा असुली प्रक्रियालाई पनि कडाइ गर्ने चेतावनी दिएको छ। बैंक खाता बन्द नगरेका ऋणी, सञ्चालक, व्यवस्थापक, लेखा सदस्य तथा जमानीकर्तामाथि निगरानी बढाइने र आवश्यक परे बैंक खाता रोक्का तथा सरकारी सेवासुविधा रोक्नेसम्मका कदम चालिने बताइएको छ।

त्यस्तै, ऋण रकम आफन्त वा नातेदारमार्फत अन्यत्र सारिएको आशंका देखिएमा सम्बन्धित व्यक्तिको तीन पुस्तासम्म अनुसन्धान गरिने समितिले जनाएको छ। समितिले ऋणी तथा सम्बन्धित पक्षलाई तत्काल सम्पर्क गरी भुक्तानी योजना पेस गर्न आग्रह गर्दै कानुनी कारबाहीबाट बच्न सचेत गराएको छ।

समितिले बचतकर्ताको रकम फिर्ता प्रक्रिया पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij