काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत पुगेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार १० महिनाको अवधिमा कुल ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ बराबर बजेट खर्च भएको छ। सरकारले यस आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो। हालसम्म कुल खर्च विनियोजनको ५९.७५ प्रतिशत पुगेको कार्यालयले जनाएको छ।
चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकामा बैशाख मसान्तसम्म ८ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ, जुन ६८.९८ प्रतिशत हो।
त्यसैगरी पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकामा हालसम्म १ खर्ब १३ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन २७.९१ प्रतिशत हो।
वित्तीय व्यवस्थातर्फ भने ६५.३० प्रतिशत खर्च भएको छ। यस शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन भएकामा २ खर्ब ४५ अर्ब १ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ।
यस अवधिमा सरकारको आम्दानी पनि लक्ष्यअनुसार बढ्न सकेको छैन। वार्षिक लक्ष्य १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ रहेकोमा हालसम्म १० खर्ब १२ अर्ब ५ करोड २४ लाख रुपैयाँ मात्र आम्दानी भएको छ, जुन ६६ प्रतिशत हो।
राजस्वतर्फ १४ खर्ब ८० अर्ब रुपैयाँ लक्ष्य राखिएकोमा १० महिनामा ९ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख रुपैयाँ मात्र संकलन भएको छ, जुन ६६.६९ प्रतिशत हो।
वैदेशिक अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ लक्ष्य रहेकामा हालसम्म १७ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ मात्र प्राप्त भएको छ, जुन ३३.२८ प्रतिशत हो।
बजेट कार्यान्वयनको समग्र अवस्था मिश्रित देखिएको छ, जहाँ चालु खर्च उच्च भए पनि पुँजीगत खर्च भने उल्लेख्य रूपमा कमजोर देखिएको छ।